मर्मतपछि गलेश्वरको बेलिब्रिज पुल सञ्चालनमा

  • ३० श्रावण २०७७, शुक्रबार
  • 1085 पटक पढिएको

म्याग्दी, ३० साउन । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित बेलिब्रिज पुल मर्मतपछि संचालनमा आएको छ। गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको एकतर्फको जिप मर्मतपछि पुल सञ्चालन आएको हो ।मर्मतपछि हलुका सवारी साधन सञ्चालनका लागि खुला गरिएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख अशोक तिवारीले पर्खालको माथिल्लो भागमा गरिएको कंक्रिट ढलान पूर्ण रुपमा जमेपछि भदौ ८ गतेदेखि १६ टन सम्म क्षमताको मालबाहक र ठूला गाडी समेत सञ्चालन गरिने बताए ।


पुल मर्मतका लागि ८ मिटर अग्लो ४४६ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पर्खालबाट नदीको सतहमा खसेको बेलिब्रिजलाई क्रेनको सहायताले ५ मिटर माथि तानिएको छ । आयाजनाले पुल मर्मतमा हालसम्म ४६ लाख खर्च भएको छ, ९ लाख ७५ हजार खोलामा खसेको पुललाई क्रेनले तान्न, ग्यावीयन पर्खाल निर्माण गर्न ३४ लाख र रु. दुई लाख पुलको अन्य भाग मर्मतमा खर्च भएको छ ।

पुल मर्मतका लागि म्याग्दीका जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी र विभिन्न संघ संगठनका प्रतिनिधिहरुले ढुङ्गा संकलन तथा ढुवानी र ग्यावीयन पर्खाल निर्माणका लागि श्रमदान गरेका थिए । श्रमदानबाट राहुघाटको बस्ति संरक्षणका लागि पनि ग्यावीयन पर्खाल निर्माण गरिएको रघुगंगा गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
गलेश्वरको पुल मर्मत भएपछि बेनी देखि अन्नपूर्ण गाउपालिका–३ खामभित्ता सम्म यातायात सञ्चालन हुन थालेको छ । जोमसोम तर्फबाट घाँसा हुदै काभ्रेभिर सम्मको सडक मर्मत सकिएको छ । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात संचालन हुन सकेको छैन ।रुप्से, तितर र काभ्रेभिरमा पनि सडक मर्मतको काम भैरहेको आयोजना प्रमुख तिवारीले बताए ।

अवरुद्ध हुँदा मुस्ताङका साथै म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउपालिकामा दैनिक उपभोग्य, निर्माण सामग्री, इन्धन ढुवानी र कृषि उपज निकासी गर्न ग्राहो भएको थियो । यातायात अवरुद्ध हुदाँ बाढी पहिरो प्रभावित क्षेत्रका पीडितहरुलाई खाद्यान्न र विरामीहरु अस्पताल ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु परेको थियो