पहिरोले दाना–खुर्कोट प्रशारण लाइनको १४ नम्वरको टावर ढल्यो
- १ श्रावण २०७७, बिहीबार
- धिरन खत्री
- 1663 पटक पढिएको
म्याग्दी, १ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका –३ स्थित दाना–खुर्कोट लाईनको पर्वतको खण्डको १४ नम्वरको पिल्लर माथिबाट आएको बाढीसहितको पहिरोले ढलेको छ । कालीगण्डकी कोरीडोर अन्तरगत नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर ढलेको हो ।
धाइरिङको डिलबाट आएको पहिरोले कुनातर्फको दुई वटा लेग भाचिएपछि १४ नम्बरको टावर ढलेको ठेकेदार कम्पनी टाटा–चिन्ट जेभीका केदार रेग्मीले बताए। गत सोमबार रातिको पहिरोले कुनातर्फ टावर पल्टिल्दा करिव एक करोड क्षति भएको छ । टावर ढल्नुको कारण र पारेको क्षतिको बारेमा आयोजनाले अध्ययन थालेको छ। नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९.६ किलोटिर दुरिको दाना–खुर्कोट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।
११४ वटा मध्य पोखरेबगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तारसमेत तानिएको आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले बताए। दुई अर्ब ९० करोड रुपैयामा ठेक्का सम्झौता भएको आयोजना अन्तरगत दाना र खुर्कोटको सबस्टेशनसमेत अन्तिम चरणमा पुगेको छ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनको दाना र खुर्कोटमा सब स्टेशन निर्माण तिव्र छ ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l