रघुगंगामा बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक
- ५ असार २०७७, शुक्रबार
- 2001 पटक पढिएको
म्याग्दी ५ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण सुरु गरिएको हो ।
गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गरि शिकाई सहजीकरण गर्न निर्देशन दिईएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यार्थीहरुको स्वास्थ्य र सरसफाईको लागि समेत आबश्यक सहयोग गर्ने तयारी गरिएको छ ।
बाहिरबाट शिक्षकलाई नलैजाने तर स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि बढीमा २० जनासम्म बालबालिकाहरुलाई राखेर पढाउने गरिएको शिक्षा शाखाका संयोजक प्रेम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मौवाफाँटको ज्ञानोदय मावि, पिप्लेको रघुगंगा मावि, भगवतीको मुक्तिधाम माविले आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुलाई टोल टोलमा शिक्षक परिचालन गरि बैकल्पिक शिकाई सहजीकरण गर्न सुरु गरिसकेका छन् ।
अन्य विद्यालयहरुले समेत आबश्यक तयारी गरि शिकाई सहजीकरण कार्यक्रमलाई अघि बढाउने तयारी गरेको उहाँको भनाई छ । टोल–टोलमा परिचालन भएका शिक्षकहरुले २० जनासम्मका बालबालिकाहरुलाई दैनिक दुई घण्टासम्म पठनपाठन गराउने गरेका छन् ।
यस गाउँपालिकाको अधिकाँश विद्यालयमा नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक समेत वितरण गरिसकिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । यस गाउँपालिकामा विद्यालय तहमा करिब ३ हजार विद्यार्थीहरु रहेका छन् । लकडाउनको कारण विद्यार्थीहरुको शिकाई उपलब्धीमा गिरावट आउने भएपछि बैकल्पिक व्यवस्थापनमा जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।