धवलागिरी गाउँपालिकाको मुदी सडक सञ्जालले जोडियो
जुग्जादेखि काफलडाडाँ पनि सिधा सडक
- ३ असार २०७७, बुधबार
- 1482 पटक पढिएको
म्याग्दी ३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालले जोडिएको छ । गाउँपालिकाको केन्द्र रहेको मुनादेखि सडक विस्तार सुरु भएको तीन बर्षपछि मात्रै मुदीमा सडकको ट्याक खुलेको हो । गाउँपालिकाले विनियोजन गरेको रु २० लाख र प्रतिनिधि सभा साँसद भुपेन्द्र थापा मार्फत स्थानीय विकास साझेदार कार्यक्रम अन्र्तगतको रु ३० लाख बजेटबाट यो बर्ष सडकको ट्याक निर्माण गरिएको हो । यस अघि मुना र मुदीको बिचमा रहेको अक्करे भिरमा पुगेर रोकिएको सडकको पहुँच गाउँसम्म पुगेपछि मुदीबासीमा खुसीयाली छाएको छ ।
गाउँपालिकाको केन्द्रदेखि मुदीसम्म सडकको ट्याक निर्माण भएको र त्यसलाई आगामी बर्षदेखि थप स्तरोन्नती गर्ने र दरखोलामा मोटरेबल पुलको लागि थप पहल गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार, यो सडक निर्माणमा पहिलो बर्ष गाउँपालिकाले रु ९० लाख र दोस्रो बर्ष गाउँपालिकाले ६५ लाख र सांसद थापाको स्थानीय विकास साझेदार कार्यक्रम मार्फत रु २३ लाख बजेटबाट ट्याक निर्माण थालिएको थियो । यसैबिच मालिका गाउँपालिकाको वडा नम्बर ५ जुग्जा र धवलागिरि गाउँपालिका–७ ताकमको काफलडाँडा समेत सडक सञ्जालले जोडिएको छ । तस्बिर तलमान पुनकाे फेसबुकबाट