चिमखोले डोको संरक्षणको लागि डिभिजन वन कार्यालय मार्फत स्थानीयलाई उद्यमशिलता तालिम
- २६ जेष्ठ २०७७, सोमबार
- 2461 पटक पढिएको
म्याग्दी २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मौलिक पेशाको रुपमा रहेको ‘चिमखोले डोको’ बुन्ने पेशाको संरक्षणको लागि स्थानीयलाई तालिम दिईएको छ । डिभिजन वन कार्यालय म्याग्दीले सामुदायिक वनमा उद्यमशिलता अभिबृद्धि कार्यक्रम अन्र्तगत चिमखोलाका २० जनालाई बाँस तथा निगालोमा आधारित डोको, डाली, मुडा लगायतका सामाग्री बनाउने तालिम दिएको कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । जेठ २३ गतेदेखि सुरु भएको तालिम एक सातासम्म सञ्चालन हुनेछ ।

स्थानीय रानीवन चिमखोला सामुदायिक वन उपभोक्ता समितिसंगको सहकार्यमा तालिम सञ्चालन भएको हो ।चिमखोलामा उत्पादन गरिने मौलिक डोको, डालीको माग बढी छ । खासगरि ग्रामीण भेगमा घरायसी सामान बोक्नको लागि डोकोको प्रयोग गरिने भएपनि शहरी क्षेत्रमा समेत सजावट र कोसेली बोक्ने प्रयोजनमा चिमखोले डोको र डालीको प्रयोग हुँदै आएको छ । रंग लगाएर आकर्षक बनाईएको डोको र डालीलाई उपहारको रुपमा समेत आदान प्रदान गर्ने प्रचलन रहेको छ ।

पछिल्लो समय मौलिक चिमखोले डोको बुन्ने पेशा हराएर जाने समस्या बढेपछि डिभिजन बन कार्यालयले स्थानीय स्तरमा उद्यमशिलताको विकासलाई ध्यानमा राखेर तालिम सञ्चालन गरेको फरेष्टटर रामजी शर्माले बताउनुभयो । चिमखोला क्षेत्रमा प्रशस्त मात्रामा पाईने निगालोको उपयोग गरि स्थानीयको आयआर्जन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ । स्थानीय २० जनाको सहभागीता रहेको तालिममा स्थानीय सरबहादुर पुन र पोष्टहादुर पुनले डोको र डाली बुनाई तथा रुपेश नेपाली र सन्तबहादुर शेरपुञ्जाले मुडा बुन्ने तालिम प्रदान गर्नुभएको छ ।