गण्डकी प्रदेशमा ३८ नयाँ संक्रमित थपिए, म्याग्दीको २८ जनाको रिपोर्ट नेगेटिभ
- २५ जेष्ठ २०७७, आईतवार
- 1486 पटक पढिएको
म्याग्दी २५ जेठ । आईतवार विहानै गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बागलुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । यसैबिच जेठ २० गते भारतबाट आएर क्वारेनटाइनमा बसेका १५ जना सहित स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना र जिल्लाको पहिलो संक्रमितका कोठाका दुई जना साथि र अन्य १ जना गरि २८ जनाको स्वाब परिक्षणको रिपोर्ट नेगेटीभ आएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ ।
हालसम्म जिल्लाबाट १७९ जनाको नमुना संकलन गरि पठाइएकोमा २ जनाको पोजेटिभ आएको छ भने १५६ जनाको रिपोर्ट नेगेटिभ आएको र २१ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।