रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै म्याग्दीबाट समेत सरकारको ध्यानकर्षण (भिडियो सहित)

  • १५ जेष्ठ २०७७, बिहीबार
  • 1496 पटक पढिएको

म्याग्दी १५ जेठ । पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा अन्तरजातीय प्रेम सम्बन्ध र विवाह प्रकरणमा भएको घटनाको निष्पक्ष छानविन गर्न म्याग्दीका दलित अधिकारकर्मीहरुले माग गरेका छन् । जिल्लामा रहेका दलित संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई विहिवार ध्यानकर्षण पत्र बुझाएका हुन् ।

अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुरमा लामिछानेले बताउनुभयो । जिल्लामा रहेका विभिन्न १४ वटा दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले संयुक्त रुपमा प्रजिअ ढकाल मार्फत सरकारलाई ध्यानकर्षण पत्र हस्तान्तरण गरेका थिए ।


गत जेठ १० गते जाजरकोट भेरी नगरपालिका–१४ रानागाउँका नवराज विक सहित रुकुमको चौरजहारी–८ सोतीमा उनकी प्रेमिकालाई लिन गएको युवाहरुको समुहमाथि स्थानीयले लखेट्ने र घेराबन्दीमा पारेर कुटपिट गरि हत्या समेत गरेको भन्दै घटनामा संलग्न दोषिहरुलाई कडा कारबाहिको माग गरिएको छ । केटि लिन गएको युवाहरुको समुह मध्ये अहिलेसम्म नवराज सहित उनका तीन जना साथिहरुको भेरी नदीमा सब फेला परेको भने अझै दुई जना वेपक्ता भएका छन् ।


उनका घरपरिवार र आफन्तले अन्तरजातीय प्रेम सम्बन्धलाई छुटाउन नवराज र उनका साथिहरुको केटि पक्षका घरपरिवार र गाउँलेहरुले हत्या गरेको भन्दै उजुरी समेत दर्ता गरिसकेका छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ ढकालले अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटना दुखत रहेको बताउँदै घटनाको निष्पक्ष छानविन हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले जिल्लामा समेत जातीय विभेदका घटना भएमा त्यस्ता घटनामा दोषिहरुलाई कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।