नेपालमा कोरना संक्रमित संख्या ९९ पुग्यो : एकैदिन थपिए १७ जना संक्रमित
- २४ बैशाख २०७७, बुधबार
- 1924 पटक पढिएको
म्याग्दी, २४ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।
मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।