खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष विश्वकर्माद्धारा खेलाडीहरुलाई सहयोग

  • १६ बैशाख २०७७, मंगलवार
  • 3170 पटक पढिएको

म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावित बनेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले सहयोग गर्नुभएको छ ।आफ्नो कार्यकाल पुरा गरि समितिबाट विदाइ हुनुभएका विश्वकर्माले लकडाउनबाट प्रभावित बनेका ८ जना खेलाडीका घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

आफ्नो कार्यकालमा म्याग्दीबाट सहभागी भएर विभिन्न प्रतियोगिताहरुमा पदक दिलाउन योगदान गरेका र लकडाउनबाट समस्यामा परेका खेलाडीहरुलाई निवर्तमान अध्यक्ष विश्वकर्माले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो ।

उहाँले ८ जना खेलाडीका घरपरिवारलाई प्रत्येकलाई २५ केजी चामल, २ केजी चिनी, ३ केजी दाल, ४ पोका खानेतेल, २ पोका नुन र ४ वटा सावुन सहयोग गर्नुभएको हो । समस्यामा परेका अन्य खेलाडीहरुलाई समेत सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीय तहहरुबाट राहत नलिएका तर लकडाउनबाट समस्यामा परेका खेलाडीहरुको पहिचान गरि उहाँले सहयोग गर्नुभएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो ।