पात्लेखेतको नेपाने धैरेनी सडकको ट्याक निर्माण
- १३ बैशाख २०७७, शनिबार
- 1643 पटक पढिएको
बेनी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको नेपाने धैरेनीमा सडक निर्माण भएको छ । कोरोना (भाइरस) रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी)का बावजुद पनि पात्लेखेतको नेपाने धैरेनीका बासिन्दाहरुले स्थानीय स्तरमा जनशक्ति र उपकरण परिचालन गरेर सडक निर्माण गरेका हुन् ।
वैशाख ५ गते सुरु भएको सडक निर्माणको काम वैशाख १२ गते शुक्रबार सकिएको नेपाने धैरेनी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रोका (समिर)ले जानकारी दिनुभयो । ‘डोजर र स्थानीय जनशक्ति परिचालन गरेर सडक खनेका हौ,’ उहाँले भन्नुभयो ‘लकडाउनका बीच गाउँमा सडक पु¥याउँदा खुसी भएका छौ ।’
नेपानेदेखि धैरेनी टोल जोड्ने सडक दुई किलोमिटर छ । २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जिप, ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधन चलाउन सकिने भएको छ । सडक पाँच मिटर फराकीलो छ । बेनी नगरपालिकाले चार लाख रुपैयाँ बिनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले एक लाख रुपैयाँ बराबरको श्रमदान र नगद सहभागिता गरेका अध्यक्ष रोकाले बताउनुभयो । ग्रेड, मोड मिलाएर वनजंगल र पाखोलाई कम असर नपुग्नेगरि सडक खनिएको छ ।
सडक निर्माण भएपछि उकालोमा तीस मिनेट हिड्नुपर्ने बाटो दश मिनेटमा छोटीएको छ । गाउँमा उत्पादन भएको तरकारी, फलफूल, खाद्यान्न निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न सुबिधा पुगेको छ । बेनी नगरपालिका लगायत म्याग्दीका स्थानीय तहहरुले सञ्चालन गरेका विकास निर्माणका कामहरु बन्दाबन्दीको समयमा पनि जारी छ । स्थानीय मजदुर र उपकरण परिचालन गरेर हुने योजनाको काम नरोकीएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।