म्याग्दीमा विभिन्न शहरबाट आएका एक सय भन्दा बढीलाई क्वारेन्टिनमा राखियो
- १२ बैशाख २०७७, शुक्रबार
- 2900 पटक पढिएको
बेनी, १२ वैशाख । राजधानी काठमाडौ लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएका एक सय जना भन्दा बढी सर्वसाधारणलाई क्वारेन्टिन (एकान्तबास)मा राखिएको छ । कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट म्याग्दीको निर्णय अनुसार उनिहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा पठाइएको हो । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण सहरी क्षेत्रमा फसेकाहरु गाउँ फर्कीएका थिए ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकायको समन्वयमा जिल्लामा आएका ११२ जनालाई सम्बन्धित पालिकाले बनाएको एकान्तबासमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । शुक्रबार काठमाडौबाट म्याग्दीमा धवलागिरी गाउपालिकाका ८४, बेनी नगरपालिकाका ९ जना, मंगला गाउपालिकाका ५ जना, मालिकाका १०, रघुगंगाका ३ र अन्नपूर्ण गाउपालिकाका ३ जना आएका थिए । यसअघि बुटबलबाट २६ र काठमाडौबाट ३१ जना आएका थिए ।
‘विदेशबाट आएकाहरुलाई एकान्तबासमा राखेर कोरोनाको द्रुत परिक्षण सकेर जिल्लालाई सुरक्षित बनाएका थियौ,’ प्रजिअ ढकालले भन्नुभयो ‘सहरी क्षेत्रमा लकडाउनका कारण फसेकाहरु आएपछि कोरोनाको जोखिम न्युनीकरण गर्न देशभित्रैबाट आएकालाई पनि १४ दिन एकान्तबास राख्ने निर्णय लियौ ।’ यसअघि १०० जना भन्दा बढीलाई क्वारेन्टिनमा राखीएको छ । हालसम्म १५४ जनामा कोरोनाको द्रुत परिक्षण भएकोमा सबैलाई कोरोना नभएको पुष्टि भएको छ । जिल्लाभर १७५ जना क्षमताको क्वारेन्टिन बनाइएको छ । बेजिल्लाबाट आएकाहरुलाई उनिहरुको गाउ नजिकैको क्वारेन्टिनमा राखिएको हो ।
अध्ययन, रोजगारी र मजदुरीका लागि राजधानीमा बसेकाहरु लामो लकडाउनका कारण समस्यामा परेपछि प्रशासन, सुरक्षा निकाय र पालिकाको समन्वयमा गाडीको व्यवस्था गरेर गाउँ पठाइएको काठमाडौबाट म्याग्दीमा सर्वसाधारण पठाउन समन्वय गर्नुभएका रेशम भण्डारीले बताउनुभयो । बेजिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्ने पूर्व निर्णय अनुसार काठमाडौबाट आएकाहरुलाई राखिएको र तोकिएको समय पुरा भएपछि स्वास्थ्य परिक्षण गरि घर जान दिने धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
उहाँका अनुसार रात्री बस चढेर आएकाहरुलाई बेनीमा खाना खुवाएर गाउँ पठाइएको थियो । धवलागिरी गाउपालिकाको ताकम मावि, हेम मावि, जनविकास आधारभूत, भूमे आधारभूत, धनजनता मावि, धवलागिरी आधारभूत, खोरीया आधारभूत र लमसुङ माविमा बनाइएको क्वारेन्टिनमा राखिएको छ ।