दानामा महिला सहकारीद्धारा खाद्यान्न राहत वितरण
- १२ बैशाख २०७७, शुक्रबार
- 1973 पटक पढिएको
गंगा पुन
दाना, १२ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानामा रहेका सृजना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार साढे नौ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न राहत वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण सर्वसाधारणलाई परेको समस्या समाधानका लागि चामल, नुन र खाने तेल वितरण गरेको हो ।
अन्नपूर्ण गाउपालिकासंग समन्वय गरेर वडाका सबै घरधुरी र दानामा सञ्चालित आयोजनामा काम गर्ने मजदुरका परिवारलाई खाद्यान्न राहत वितरण गरिएको संस्थाकी अध्यक्ष बुद्धीकुमारी पुर्जाले जानकारी दिनुभयो । ५६५ परिवारलाई एक बोरा चामल, एक केजी नुन र १ लिटर खाने तेलका दरले वितरण गरिएको हो । खाद्यान्न राहत वितरणका लागि संस्थाले नौ लाख ६० हजार ७९० रुपैयाँ खर्च भएको जनाएको छ ।
अन्नपूर्ण गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी, दानाका वडा अध्यक्ष नरसिंह पुर्जा, कार्यपालिका सदस्य थमबहादुर विश्वकर्मा, संस्थाकी अध्यक्ष बुद्धीकुमारी पुर्जा, अनुगमन सदस्य रमेश पुर्जा, सुरत केसी, अनिता तिलिजा, दाना प्रहरी चौकीका प्रमुख ओमबहादुर बोटेको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
सहकारी संस्थाले खाद्यान्न राहत वितरण गरेकोमा दानाका बासिन्दाहरुले खुसी व्यक्त गरेका छन् । खाद्यान्नको मूल्यबृद्धि र अभाव हुन थालेको अवस्थामा संस्थाले वितरण गरेको खाद्यान्नले स्थानीयबासीलाई राहत मिलेको छ । लकडाउन सुरु भएयता म्याग्दी जिल्लामा संस्थागत हिसाबले ठूलो लगानी गरेर राहत वितरण गर्नेमा सिर्जना सहकारी सम्भवत पहिलो भएको संस्थाका पदाधीकारीले बताएका छन् ।
सहकारीको संरक्षित पुजि, सहकारी शिक्षा र सहकारी विकास कोषको रकम परिचालन गरेर राहत वितरण गरिएको सचिव कमला केसीले बताउनुभयो । महिलाहरु मात्र सेयर सदस्य, सञ्चालक र कर्मचारी रहेको सिर्जना सहकारीले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ ।