मञ्चको परिकल्पना दिवसको अवसरमा ट्राफिक प्रहरीलाई मञ्चद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
- ११ बैशाख २०७७, बिहीबार
- 1307 पटक पढिएको
अमिर रामदाम
चितवन, १० वैशाख । पुर्ख्यौली थलो धौलागिरी अञ्चल क्षेत्र भित्र पर्ने विभिन्न भूभागबाट बसाई सराई गरि हाल चितवन जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण विश्वकर्मा समुदायलाई एकआपसमा परिचय गराउने, सम्पर्क बढाउने, भाइचाराको सम्बन्ध स्थापित गर्ने र दलित आन्दोलनको शिखर पुरूष स्वर्गीय भगत सर्वजित विश्वकर्माको इतिहासलाई खोज, अध्ययन, प्रवर्द्धन र संरक्षणका लागी गठित संस्था धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवन हो । भगत सर्वजितले देखाएको शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं भन्ने नारालाई व्यवहारत लागू गर्दै वि.सं २०७६ वैशाख ९ गते मञ्चको परिकल्पना गरिएको हो ।
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवनले आज बुधबार मञ्चको प्रथम परिकल्पना दिवसको अवसरमा बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयको सभाहलमा दुरी कायम गर्दै कोभिड-१९ नियन्त्रण रोकथामका विधि साथै स्वास्थ्य सजगता विषय छलफल गरिनुका साथै कार्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्रीहरू विद्युतिय स्प्रेयर र भाइरस किलर केमिकल हस्तान्तरण गरेको छ । मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले बाग्लुङ्ग ज्वेलर्स चितवनको समेत सहयोगमा बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई २ थान विद्युतिय स्प्रेयर र ३ लिटर भाइरस किलर केमिकल हस्तान्तरण गर्नुभएको हो ।
कोभिड-१९ का कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउँन अग्रपंक्तिमा रहेर ट्राफिक प्रहरीले सेवा गरिरहेको प्रहरी उपरीक्षक रानाभाटले भने सम्पूर्ण नागरिकले पनि उक्त कोरोना भाइरस संग बच्न अपनाउनुपर्ने रोकथामका विधिलाई अनिवार्य रूपमा पालना गर्न अनुरोध गर्नुभएको छ । विपद्को समयमा मञ्चको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्न प्रहरी उपरीक्षक रानाभाटले बताउनुभयो ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरु बढीरहेका कारण सम्भावित जोखिमबाट बच्न सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रहेर जोखिमको अवस्थामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सुरक्षित राख्न सहयोग पुग्ने उद्देश्यले बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरिएको मञ्चका महासचिव अमिर रामदामले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रमको सहजीकरण मञ्चका सचिव अमिर सुनारले गर्नुभएको थियो । सचिव सुनारले मञ्चद्वारा आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक कार्यहरू गर्दै जाने बताएका छन् । मञ्चद्वारा गत वर्ष वैशाख ३० गते प्रथम घोषणा सभामा जारी गरिएको १७ बुँदे प्रतिबद्धताहरू क्रमश: पूर्ण रूपमा पूरा गर्दै जाने समेत बताएका छन् ।