लकडाउनमा रत्नेचौरको अबस्था ‘आवत जावतमा कडाइ, जनजिवन सामान्य’ (भिडियो रिपोर्ट सहित)

  • ६ बैशाख २०७७, शनिबार
  • 1758 पटक पढिएको

म्याग्दी ६ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको समय करिब एक महिना पुग्दै छ । लकडाउनको कारण विकास निर्माण योजनाहरु प्रभावित बनेका छन भने जनजिवन समेत स्वभाविक रुपमा प्रभावित बनीरहेको छ ।

 

यस सन्दर्भमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छिमेकी जिल्ला बागलुङसंग सिमाना जोडिएको म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खासगरि बागलुङसंग सिमा जोडिएका नाकाहरुमा आवत जावतलाई रोक्न कडाई गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनले मानिसहरु कसरी समयलाई सदुपयोग गर्ने भन्नेमा चिन्तीत भैरहेको सन्दर्भमा रत्नेचौरको आनन्दबगर, लामगरा, भुवाने लगायतका क्षेत्रमा कृषकहरु आफनै खेतबारीमा ब्यस्त छन् ।

शहरी क्षेत्रमा लकडाउनले समय विताउन समेत मानिसहरुलाई कठिन हुने गरेपनि यहाँ भने खेतबारीको हिउँदे गहुँ, जौ भित्र्याउने चटारोले स्थानीयबासीलाई समय खेर फाल्न नपरेको स्थानीय खड्क बहादुर बोगटीले बताउनुभयो । ‘‘ सबैले आफ्नो नियमित काम गरिरहेकै छन्, करेसाबारीदेखि खेतिकिसानीमा ब्यस्त छाँै, लकडाउन भयो भनेर हात बाँधेर बस्नुपर्ने अबस्था छैन्, घरमै सुरक्षित रुपमा पुरानै दैनिकीमा छौँ’’– उहाँले भन्नुभयो । यस क्षेत्रमा कतिपय साना विकास निर्माणका कामहरु पनि अघि बढेका छन् । लकडाउन संगै रोकिएको आनन्दबगर खेलमैदान निर्माणको कामलाई अघि बढाईएको छ ।

प्रदेश सरकारको रु ५ लाख बजेटबाट निर्माण सुरु भएको खेलमैदान निर्माण योजनामा स्थानीय जनशक्तिको प्रयोग गरि सुरक्षित तवरले कामलाई अघि बढाईएको उपभोक्ता समितिका सचिब सन्तोष बोगटीले जानकारी दिनुभयो । बाहिरबाट गाउँमा आउन पूर्ण रुपमा निषेध गरिएकाले थोरै–थोरै स्थानीय मानिसहरुले साना विकास निर्माण योजनालाई अघि बढाईएको उहाँको भनाई छ ।

मानिसहरुमा कोरोना भाइरसको संक्रमण सक्ने जोखिमको त्रास भएपनि स्थानीय स्तरमा बाहिरका नाकाहरुलाई कडाइका साथ निगरानि बढाईएको छ । खासगरि बागलुङ जाने र त्यहाँबाट आउनेहरुमा अत्याबश्यक काम बाहेक पूर्ण रुपमा रोक लगाईएको वडा अध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो । यसका लागि वडा कार्यालयले प्रहरी चौकी, स्वास्थ्य चौकी, युवा र अगुवाहरु मार्फत कोरोना रोकथाम र नियन्त्रणका गतिविधिलाई सामुहिक रुपमा अघि बढाएको उहाँको भनाई छ । भाइरसको संक्रमण भित्रन नदिन स्थानीय स्वयमसेवकहरु समेत परिचालन गरिएको छ ।

रत्नेचौरमै स्वास्थ्य हेल्प डेक्स समेत स्थापना भएको छ । सडक हुँदै आवत जावत गर्ने व्यक्तिको स्वास्थ्य परिक्षण देखि विवरण टिप्ने लगायतका कामहरु भैरहेका छन् । प्रहरी र स्वास्थ्यकर्मी रहेको हेल्प डेक्समा सवारी चालकको ज्वरो नाप्ने, कोरोना सम्बन्धित जानकारी दिने कार्यहरु भैरहेको रच्नेचौर स्वास्थ्य चौकीका इन्चार्ज होमनाथ गौतमले बताउनुभयो । उहाँका अनुसार, स्वास्थ्य चौकीका कर्मचारीहरुले आलोपालो गरि हेल्प डेक्स र स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेका छन् । मजदुर, गरिब र विपन्नलाई वडाको सिफारिसमा नगरपालिका र स्थानीय बसन्त बोगटी सदावर्त गुठीले एकद्धार प्रणालीबाट राहत वितरणलाई अघि बढाईएको छ । पहिलो चरणमा ९६ घरधुरीलाई राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।