बेनीमा बेवारिसे र अल्पत्र बनेकाहरुलाई निःशुल्क खानाको ब्यबस्था (तस्बिर र भिडियो सहित)
- ५ बैशाख २०७७, शुक्रबार
- 2660 पटक पढिएको
म्याग्दी ५ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सडकमै अल्पत्र अबस्थामा भेटिएकाहरुलाई यहाँका एक परिवारले निःशुल्क खानाको ब्यबस्था गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आबद्ध रहनुभएका नेकपाका युवा नेता बालकृष्ण सुवेदीको परिवारले बेनीका सडकमा रात विताउँदै आएकाहरु लकडाउनबाट थप समस्यामा परेपछि निःशुल्क खाना खुवाउन थाल्नुभएको हो ।
लकडाउनको समयमा बेनीका सडकमा अल्पत्र र वेवारिसे अबस्थामा भेटिएका ८ जनालाई जिल्ला प्रहरी कार्यालयको अगुवाईमा उद्धार गरि बेनीको खुलामञ्चका रहेको स्टेजको टहरामा राखिएको छ । खुला आकासमुनी रहेकाहरुलाई उद्धार गरि एकैठाउँमा राखेर उनीहरुलाई अरुको सम्पर्कमा जान नदिने र निशुल्क र सहज रुपमा खाना खाने र सुत्ने ब्यबस्था मिलाईएको छ ।
सडकमा वेवारिसे मानिसहरु भेटिएपछि उनीहरुलाई पनि खानाको लागि समस्या नहोस भन्ने उदेश्यले आफुहरुले विहान र बेलुका भोजनको ब्यबस्था गरेको सुवेदीले बताउनुभयो । ‘‘ घरमै खाना पकाएर ल्याएर खुवाउने गरेका छौँ, वेवारिसे र अल्पत्र परेकाहरुलाई कम्तीमा भोकै बस्न नपरोस भन्ने हाम्रो चाहना हो’’–सुवेदीले भन्नुभयो । बेनीको लिटल गार्डेन एकेडेमिका संस्थापक समेत रहनुभएका सुवेदी म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
अहिले खुल्लामञ्चको स्टेजको टहरामा २ जना अल्पत्र र ६ जना वेवारिसे बनेका व्यक्तिहरुलाई उद्धार गरि राखिएको छ । उनीहरुलाई सहयोगदाताहरु मार्फत सुत्ने समाग्रीको समेत बन्दोबस्त भैरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउनको कारण बजारका होटल तथा पसलहरु बन्द भएको कारण सडकमा बस्दै आएकाहरुले मागेर समेत खान नपाएर भोकभोकै बस्नुपर्ने अबस्था आएको थियो ।