कोरोना प्रभावितको उपचारका लागि बेनीमा दश शैयाको अस्थायी अस्पताल बनाइने
- ७ चैत्र २०७६, शुक्रबार
- 2107 पटक पढिएको
म्याग्दी, ७ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि लक्षित गरेर बेनीमा दश शैया क्षमताको अस्थायी अस्पताल बनाउने भएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुका सम्म अस्पताल तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधिहरु सम्मिलित वैठकले म्याग्दी बहुमुखी क्याम्पस नजिक रहेको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको पुरानो भवनलाई मर्मत सम्भार र रङरोगन गरी अस्थाई अस्पतालका रुपमा प्रयोग गरिने निर्णय भएको हो । भवनमा रहेका पाँच कोठामा १० बेड राखिने छन् । सरोकारवालाको आग्रह अनुसार अस्थाई अस्पताल बनाउने माउन्ट एभरेष्ट आवासीय माविका सञ्चालकहरुले दिएका छन् । भवनको सरसफाई र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।
नेपाली सेनाले शनिबार बेलुका सम्म अस्पताल तयार पार्ने छ । कोभिड– १९ भाइरसबाट संक्रमितहरुको उपचारमा सहज होस भनेर छुट्ै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताउनुभयो । अस्पतालमा १० बेडको आईसीयुलेशन कक्ष हुने छ । कोरोना भाइरसका विरामीको आकस्मिक उपचारका लागि बेनी अस्पतालले पूर्व तयारीका रुपमा अस्पताल बनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
Good Initiation.