बेनपा–६ को पहलमा विपन्न बर्गको घरघरमा सावुन र मास्क वितरण सुरु
- ७ चैत्र २०७६, शुक्रबार
- 1998 पटक पढिएको
म्याग्दी ७ चैत । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने सावुन र मास्क वितरण सुरु गरेको छ । वडाभित्र रहेका ६५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३३३ घरपरिवारको लागि सावुन र मास्क वितरण सुरु गरिएको हो ।
सहयोगदाता मार्फत सहयोग जुटाएर प्रतिघरधुरीलाई ४ वटाको दरले सावुन र हरेक व्यक्तिलाई मास्क वितरण सुरु गरिएको वडा अध्यक्ष कृष्णसिहं बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार, एक महिनालाई हातधुन पुग्ने गरि साबुन र जोखिमयुक्त ठाउँमा जानुपर्ने अबस्थामा प्रयोग गर्नका लागि मास्क वितरण थालिएको हो । बेनी स्थित जिसी ग्रुपका नारायण जिसी र किसान जिसीले रु ४० हजार बराबरको सावुन र बेनपा–६ मा जन्मिएर हाल रुपेन्देहीमा रहनुभएका व्यवासायि नारायण महतले रु ३६ हजार बराबरको मास्क सहयोग गर्नुभएको छ । जिसी गु्रपकाका सञ्चालक नारायण जिसीले शुक्रवार नै रु ४० हजार बराबरको साबुन वडा कार्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
साबुन पानीले हात धुने बानिको विकास गराउने र जोखिमयुक्त स्थानमा जाँदा सावधानी अपनाउनको लागि सन्देश फैलाउनको लागि सहयोग अभियान सञ्चालन गरिएको वडा अध्यक्ष बानियाँले बताउनुभयो । ‘‘ हामीले सन्देशलाई घरघरमा पु¥याउनका लागि पहल गरेका हौँ, त्यस क्रममा अति विपन्नलाई सहयोग पनि पुगोस भनेर सहयोग जुटाएर सामाग्री वितरणलाई जोडेका हौँ, स्थानीय युवा क्लब र युवाहरु मार्फत घरघरमा पुगेर सामाग्री वितरणको व्यवस्थापन गरेका छौँ’’–वडा अध्यक्ष बायिनाँले भन्नुभयो । वडा कार्यालयले थप सहयोग जुटाउने प्रयासरत रहेको र सहयोग जुटेमा बाँकी रहेका सबै घरधुरीमा साबुन र मास्क पु¥याईने उहाँले जानकारी दिनुभयो ।