नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण (तस्बिर सहित)

  • २९ फाल्गुन २०७६, बिहीबार
  • 4002 पटक पढिएको

बेनी २७ फागुन । यहाँका एक युवाले ८० किलोको एउटै खुकुरी निर्माण गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका– २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले नेपालकै ठुलो ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा चार जनाको टोलीले सो खुकुरी निर्माण सम्पन्न गरेको निर्माणकर्ता सुनारले बताउनु भयो । ८० किलोको कुखुरीको अग्लाई साढे १० फिटको रहेको छ । गत मंसिर ४ गतेदेखि खुकुुरी बनाउन सुरु गरेका सुनारको टोलीले माघ २९ गतेमात्रै निर्माण कार्य सम्पन्न भएको थियो ।

सुनारसंगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समुहले तीन महिनाको अवधिमा निर्माण गरेको नेपालकै ठुलो खुकुरीलाई पर्वत बेनीमा सम्पन्न १३ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा पदर्शनीमा राखेर सार्वजनिक गरिएको थियो । माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आउनुभएका सुनारले निर्माण गरेको सो नेपालकै ठूलो खुकुरीमा फलामसंगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ ।

‘‘तीन बर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साईज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रुपमा विश्वभर रहेका नेपालीहरुको पहिचान र नेपालको चिनारीको लागि खुकुरी मार्फत प्रयास गरेको हुँ’’–निर्माणकर्ता सुनारले भन्नुभयो । उहाँका अनुसार, खुकुरी निर्माणमा रु २ लाख खर्च भएको छ ।

सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमीक खर्च समेत आफैले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरि संग्राहलयहरुमा राख्नको लागि सो खुकुरीलाई विक्रि गर्ने योजना बनाएको बताउनुभयो । पुख्र्यौली रुपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसी लगायतका हतियार संगै फलामका भाँडाहरु समेत बनाउँदै आउनुभएको छ ।