६ लाख खर्चेर न्यू नवज्योति कल्वले आँखा शिविर गर्दै: अप्रेशनको समेत सुविधा

  • ९ पुष २०७६, बुधबार
  • 1607 पटक पढिएको

थम्मन थापा,

बागलुङ ९ पुस ।   पुस दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत आँखा शिविर हुँदै छ । अहिले शिविरको लागि आवश्यक तयारी भईरहेको छ । न्यू नवज्योति युवा कल्वको आयोजना, सिर्जनसिल महिला समुह आँगाखेत र चिसापानी आमा समुह बामियाको व्यवस्थापन तथा गलकोट नगरपालिका वडा नं ७ को समन्वयमा उक्त शिविर सञ्चालन हुन लागेको हो । ग्रामिण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि बृहत आँखा शिविर गर्न लागिएको न्यू नवज्योति युवा कल्वका महासचिव रुद्र केसीले जानकारी दिए ।

पौष १६ गतेदेखि १८ गतेसम्म मल्म स्वास्थ्य चौकी आँगाखेतमा सञ्चालन हुने आँखा शिविरमा नाम दर्ताको लागि रु २ सय लाग्नेछ भनें अन्य सबै काम निशुल्क हुनेछ । शिविरमा निशुल्क आँखा चेकजाँच, निशुल्क आँखा अप्रेशन, मोतिया बिन्दु, जलविन्दुको निशुल्क अप्रेशन र डक्टरको सल्लाह बमोजिम आवश्यकता अनुसार निशुल्क चश्मा वितरण गरिने कल्वका महासचिव केसीले बताए । शिविर सफल पार्न सोमबार अन्तरकृया कार्यक्रम गरिएको छ ।

वडा सरकार, अग्रणी सामाजिक संस्था घुम्टे युवा परिवार, सिर्जनसिल महिला समुह र चिसापानी आमा समुह बिच अन्तरकृया गरिएको हो । अन्तरकृयामा प्रचार प्रसार, आर्थिक व्यवस्थापन, शिविर स्थल व्यवस्थापन, डक्टरहरुको लागि भोजन तथा अन्य व्यवस्थापन अन्य आवश्यक व्यवस्थापकिय पक्षको बारेमा छलफल गरिएको थियो । शिविरको लागि कल्वले झण्डै रु ६ लाख रुपैयाँ खर्च गर्न लागेको कोषाध्यक्ष टेकनाथ गौतमले जानकारी दिए ।

ग्रामिण क्षेत्रका जनतालाई आफनै घर आगनीमा निशुल्क आँखा अप्रेशन, औषधी र चश्मा उपलब्ध गराउने गरि शिविर सञ्चालन गर्न लागिएको कोषाध्यक्ष गौतमले बताए।आँखा शिविरलाई व्यवस्थित र आम जनतालाई सर्व सुलभ रुपमा सेवा प्रदान गरि राहत होस भन्ने उद्येश्यले शिविर सञ्चालन गर्न लागिएको कल्वले जनाएको छ । शिविरमा श्रीकृष्ण नेत्रालय रुपन्देही भैरहवाको प्राविधिक र आँखा रोग विशेषज्ञहरुको उपस्थिती रहने छ ।

शिविरमा आँखा रोग विशेषज्ञ डक्टर शल्मा केसी सहित झण्डै आधा दर्जन डक्टरहरु र उपकरणहरुको व्यवस्था गरिने भएको छ । कल्वले शिविरमा उपस्थित भई आफनो आँखा चेक जाँच गरि स्वास्थ्य लाभ लिन कल्वले सम्बन्धित सबैमा अपिल समेत गरेको छ । कल्वले गएको २१ औं वार्षिकोत्सवमा बृहत आँखा शिविर सञ्चालन गर्ने उद्येश्य राखेर आर्थिक संकलन अभियान गरेको थियो । आँखा शिविरको लागि अहिले देश विदेशबाट कल्वलाई शुभचिन्तकहरुले आर्थिक सहयोग समेत गरेका छन ।