लैङ्गिक हिंसा विरुद्धको सोह् दिने अभियान सुरु

  • १० मंसिर २०७६, मंगलवार
  • 3078 पटक पढिएको

 

बेनी, १० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि सोमबारदेखि सुरु भएको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने रहेको छ । स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाउन लागिएको हो ।


बेनीमा दिप प्रज्वलन

बेनी नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघको आयोजनामा बेनीको दुरसञ्चार टोलमा दिप प्रज्वलन गरेर दिवस सुरुवात गरिएको छ । महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रमको प्रजिअ ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बेनी नगर उपप्रमुख सञ्जु बरुवाल, शाखा अधिकृत युवराज थापा, गैसस महासंघका अध्यक्ष दिपक पौडेल लगायतको उपस्थिति थियो ।

मंगलामा अन्तरक्रिया
यसैगरी मंगला गाउँपालिकाको कार्यालय बाबियाचौरमा पनि दिवसको अवसरमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले लैङ्गिक लगायत सबै किसिमका विभेदको अन्त्य गरेर समतामुलक समाज निर्माणमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता, शिक्षा शाखाका संयोजक डेकबहादुर बानियाको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, विद्यालयका प्रअ र कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा मंगला माविका शिक्षक हुमनाथ पाण्डेले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।