कोरला नाकामा लोमनथाङ गाउँपालिकाले प्रबेशद्धार बनाउने, सवा एक कराेड बजेट विनियाेजन
- १७ कार्तिक २०७६, आईतवार
- kamal
- 2339 पटक पढिएको
कमल खत्री
म्याग्दी १७ कात्तिक । पछिल्लो समय निकै चासोको केन्द्र बनेको मुस्ताङको कोरला नाकामा लोमनथाङ गाउँपालिकाले प्रदेशद्धार निर्माण गर्ने भएको छ । नाका सञ्चालनको लागि नेपाल र चिनबिच सम्झौता भैसकेको यस नाकामा नेपालतर्फको भू–भाग भूर्वाधार विहिन भैरहेको सन्दर्भमा गाउँपालिकाले प्रवेशद्धार निर्माणको सुरसार थालेको हो । चालु आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले प्रदेशद्धार निर्माणको लागि रु १ करोड ११ लाख बजेट विनियोजन गरेको वडा नम्बर ५ का वडा अध्यक्ष हिम्जिङ दोर्जे विष्टले बताउनुभयो ।
उहाँका अनुसार, कोरला नाकामै आकर्षक गेट बनाउने तयारी गरिएको छ । हिमाली मरुभुमि र मनोरम हिमश्रृङ्खलाको अवलोकनको लागि नाकामा भ्रमणको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने क्रम बढेपछि पर्यटकहरुको आकर्षणको लागि प्रदेशद्धार निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । अहिले कोरला नाकाको समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर र कच्ची सडकको ट्याक बाहेक नेपाली भुमिमा कुनैपनि पूर्वाधार बन्न सकेको छैन् । कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी हो ।
पिल्लरको अगाडी धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाईरहेको छ । नेपाल र चिन बिच भएको नाका खुलाउने सम्झौता अनुसार, ‘कोरला नाका’मा चिनीयाँ पक्षले भन्सार लगायतको प्रयोजनको लागि विशाल भवन निर्माण गरिसकेको छ । सिमानामा आफ्नो देशको राष्ट्रिय झण्डा फहराउँदै चीनले सुरक्षाको लागि पुलिस संगै सिमा नजीकै सेना समेत परिचालन गरिसकेको छ । नाका सञ्चालनकै लागि चिनीयाँ पक्षबाट नाका सम्म कालोपत्रे गरिएको सडक निर्माण गरी अन्य पूर्वाधार निर्माणलाई समेत तिब्रता दिइएको भएपनि नेपाली पक्षबाट भने पूर्वाधार निर्माण सुरु समेत हुन सकेको छैन् ।
‘‘ चिनले आफ्नो भुमिलाई तारबार गरेर सुरक्षा गरेको छ, सुरक्षाको प्रवन्ध संगै भवनहरु पनि बनाइसकेछ, हाम्रो भुमिमा नत सिमाको सुरक्षा छ, नत राष्ट्रिय झण्डा नै फहराइएको छ’’– पोखराबाट कोरला पुगेका बलबहादुर थापाले भन्नुभयो । नाकामा पुग्ने सबैजसो नेपालीहरुले कम्तीमा राष्ट्रिय झण्डालाई फहराउनुपर्ने बिचार राख्दै आएका छन् । मुस्ताङको मात्रै नभएर साविक धवलागिरी क्षेत्रसंगै गण्डकी प्रदेशकै भाग्यरेखा मानिएको यस नाका सञ्चालनको लागि पूर्वाधार निर्माणको सुस्तता प्रमुख समस्याको रुपमा देखिएको लोमनथाङका स्थानीय अगुवा ज्ञानेन्द्र विष्टले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको लोमनथाङ गाउँपालिका अध्यक्ष समेत रहनुभएका बिष्टले नाका खुलाउने सन्दर्भमा गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारले उच्च प्राथमिकता दिएर आबश्यक काम गर्नुपर्ने बताउनुभयो ।