नागी, लोप्रे र कुवापानीमा शृङखलावद्ध चोरी
- २८ भाद्र २०७६, शनिबार
- 2556 पटक पढिएको
म्याग्दी, २८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी, पर्वतको जलजला गाउँपालिका–५ लोप्रे र कुवापानी गाउँमा पछिल्ला दुई रातमा शृङखलावद्ध चोरी भएको छ । बीस वटा बढी घरमा तोडफोड गरेर बाह् लाख रुपैयाँ भन्दा बढीको नगद र गरगहना चोरी भएको हो । अन्नपूर्ण गाउँपालिका–८ की वडा सदस्य गेममाया पुनले दिएको जानकारी अनुसार नांगीका नन्दबहादुर चोचाङ्गी र बिरबहादुर खोरजाको घरबाट छ लाख रुपैयाँ बराबरको नगद र गरगहना चोरी भएको छ ।
‘अरु १० वटा घरमा पनि ताला फुटाएर घरभित्र भएका बाकस खोलेर सामान लथालिङ्ग बनाएका छन,’ पुनले भन्नुभयो ‘नगद र गहना खोज्न घरका ढोका र बाकसको चाबी खोल्ने उपकरणकै प्रयोग गरेको देखिन्छ ।’ नागीको सिमानामा पर्ने कुवापानी र लोप्रे गाउँमा बिहीबार राती नागीकै शैलीमा चोरी भएको स्थानीय पुर्ख पुर्जा पुनले जानकारी दिनुभयो । घटनास्थल पुगेको लेकफाँट प्रहरी चौकीको टोलीका अनुसार लालमाया अर्जजाको घरबाट एक लाख ३१ हजार रुपैयाँ नगद चोरी भएको छ ।
तिर्थबहादुर पुनको घरबाट बाला, चेन, सिक्रीको लगेट एक÷एक थान गरि छ तोला सुनका गहना र २५ हजार रुपैयाँ नगद चोरी भएको छ । मान्छे नबसेको घरलाई चोरले निशाना बनाएका छन् । घरका मानिसहरु गाईबस्तु कुर्नका लागि घरमा खाना खाएर गोठमा सुत्न गएको अवस्थामा चोरी भएको छ । रिममाया पुनको घरबाट आठ हजार, रामसिङ पुनको घरबाट नौ हजार, पे्रेमबहादुर पुनको घरबाट १२ हजार चोरी भएको छ । कुवापानीका दुई वटा घरमा पनि चोरी भएको छ ।
पर्वतको लेकफाँट प्रहरी चौकी र म्याग्दीको इलाका प्रहरी कार्यालय घोडेपानीको टोली परिचालन गरेर अनुसन्धान र संलग्नको खोजी भैरहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताउनुभयो ।