नबौ माउन्ट कप भलिबल प्रतियोगिताको तयारी पुरा

  • १९ भाद्र २०७६, बिहीबार
  • 1955 पटक पढिएको

बेनी, १९ भदौ । माउन्ट एभरेष्ट आवासीय माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि सुरु हुनै नबौ माउन्ट एभरेष्ट कप छात्र छात्रा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले विहिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको जनाएका हुन् । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने छात्र छात्राहरुबीच हुने प्रतिस्पर्धाको छात्रतर्फ करिब बीस र छात्रातर्फ १० समुहले सहभागिता जनाउने युरेसका अध्यक्ष सज्जन सापकोटाले जानकारी दिनुभयो ।

छात्र भलिबलको बिजेता र उपबिजेताले रनिङ ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार र बीस हजार तथा छात्रातर्फ बिजेताले बीस हजार र उपबिजेताले दश हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

यसैगरी विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने भएको छ । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान र अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । दोस्रो चरण प्रवेश गर्ने विद्यालयका प्रति खेलाडी दैनिक १५० र सेमिफाइनल प्रवेश गर्नेलाई दैनिक प्रतिखेलाडी तीन सय रुपैयाँका दरले भत्ताको व्यवस्था गरिएको छ । युरेसका बिशाल बुढामगरले सञ्चालन गरेको कार्यक्रममा प्रिन्सीपल आरके चौधरी र शिक्षा संयोजक राजु केसीले प्रतियोगिताको पृष्ठभूमि र महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।