मंगलाघाटमा निर्वाचन कार्यालयको भवन निर्माण
- १८ भाद्र २०७६, बुधबार
- 1695 पटक पढिएको
बेनी, १८ भदौ । बेनी नगरपालिका–७ मंगलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले करिब पौने दुई करोड रुपैयाँको लागतमा तीन तले नौ कोठे भवन निर्माण गरेको हो ।भुकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि मसुद–बिएन–त्रिशक्ति जेभीले भ्याट बाहेक एक करोड ६४ लाख १४ हजार ७१ रुपैयाँमा ठेक्का लिएको थियो । २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि ८ महिना थप भएको थियो ।
असारमा सम्झौता भएपनि भवन निर्माण स्थलमा बेनी–दरवाङ सडकको ठेकेदारले निर्माण सामग्री नहटाएकाले पुषबाट काम सुरु भएको थियो । नयाँ भवनमा कार्यालय स्थापना गरेर सेवा प्रवाह सुरु गरेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।निर्वाचन आयोगले डिजाइन गरेको भवनमा सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले इस्टिमेट र सुपरिवेक्षण गरेको थियो । भवनमा कार्यालय प्रमुख, प्रशासन, लेखा, सहायता कक्ष, प्रबिधि, तालिम हल, स्टोर, अतिथि गृह, आवास र सूचना प्रबिधि कक्ष छन् ।
निर्वाचन कार्यालय म्याग्दी स्थापना देखिनै भाडाको घरबाट सञ्चालन हुदै आएको थियो । कोठा भाडामा कार्यालयले पछिल्लो एक वर्षमा चार लाख १८ हजार रुपैयाँ खर्च गरेको थियो । सुबिधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाह सहज भएको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो ।
‘हस्तान्तरण हुन बाँकी भएपनि आयोगले नयाँ आर्थिक वर्षदेखि कोठा भाडा तिर्ने बजेट नपठाएकाले बाध्यताले नयाँ भवनमा कार्यालय सारेका हौ,’ पौडेलले भन्नुभयो । निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले छिट्टै हस्तान्तरण गर्ने समझदारीमा भवन प्रयोग गर्न दिएको बताउनुभयो ।
‘अन्तिम मूल्याङ्कन र भुक्तानी बाँकी छ,’ खतिवडाले भन्नुभयो ‘स्थलगत रुपमा बस्तुअवस्था अध्ययन नगरि डिजाइन र इस्टिमेट गरिएकाले भवन निर्माणमा कठिनाई भयो ।’ अन्य आयोजनाहरुको स्थलगत रुपमा वस्तु अवस्था र भुगोलको अध्ययन गरेर डिजाइन र लागत अनुमान तयार पार्न सम्बद्ध कार्यालयसँग माग गर्नुभयो ।
भवन परिसरमा बेनी–दरवाङ सडकको पहिरो रोकथामका लागि लगाइएको पर्खालको जोखिम छ । पर्खाललाई सुरक्षित बनाउन बेनी–दरवाङ सडक आयोजना सञ्चालन गरेको पूर्वाधार विकास कार्यालयमा माग गरिएको छ ।
यसैबीच म्याग्दीमा हालसम्म ८१ हजार ४७७ जनाको तस्बिर सहितको मतदाता नामावली संकलन भएको छ । २०७६ साउन सम्म ३९ हजार २६९ जना पुरुष, ४२ हजार १७७ जना महिला र एक जना तेस्रो लिङ्गीको तस्बिर सहितको मतदाता नामावली दर्ता भएको छ ।
२०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३६ हजार १०२ पुरुष, ३९ हजार ४३५ महिला, एक जना तेस्रो लिङ्गीले नामावली दर्ता गराएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा तीन हजार १६७ जना पुरुष र दुई हजार ७४२ जना महिला गरि पाँच हजार ९०९ जना मतदाता थपिएका छन् ।कार्यालय र जिल्ला प्रशासन कार्यालयमा १६ वर्ष उमेर पुगेका नागरिकको तस्बिर सहितको मतदाता नामावली दर्ता गरिदै आएको छ ।