रत्नेचौरको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना ( फोटो फिचर)
- १७ भाद्र २०७६, मंगलवार
- 2477 पटक पढिएको
बेनी, १७ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिक रुपमा विपन्न समुदायका गर्भवतिहरुलाई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
मातृ शिशू मृत्युको जोखिम घटेको छ । बेनी नगरपालिकाको सहयोगमा पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेपछि प्रसुति केन्द्र सञ्चालन भएको हो । वडा कार्यालयको पहलमा नगरपालिकाले प्रसुति केन्द्र स्थापनाका लागि भवन र उपकरणको व्यवस्थापन गरेको छ ।
वडा अध्यक्ष टेकबहादुर रावलले स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको विपद् व्यवस्थापन केन्द्रको भवनमा वर्थीङ सेन्टर सञ्चालन गरिएको बताउनुभयो । ‘बर्थिङ सेन्टरको लागि बनाएको भवन साँघुरो भएकाले त्यहाँ कार्यालय र विपद् व्यवस्थापनका लागि बनेको भवनमा बर्थिङ सेन्टर स्थापना गरिएको हो,’ वडा अध्यक्ष रावलले भन्नुभयो ‘बर्थीङ सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने सबै उपकरण खरिद गरिएको छ ।’
गत आर्थिक वर्ष २०७५÷७६ मा वर्थीङ सेन्टरको भवनलाई एक लाख, विपद् व्यवस्थापनको भवनलाई पाँच लाख र उपकरण खरिद गर्न एक लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । तालिमप्राप्त जनशक्ति भएपनि पूर्वाधार र उपकरण नहुँदा प्रसुति सेवा सञ्चालन हुन सकेको थिएन् ।
स्वास्थ्य चौकीमा हाल एक जना तालिमप्राप्त स्वास्थ्यकर्मी भएको र नगरपालिकाले थप एक जना कर्मचारी खटाएपछि चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गर्न सकिने स्वास्थ्य चौकीका प्रमुख दिनेश जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार रत्नेचौरमा सुत्केरी हुनेको संख्या वार्षिक सरदर ५० जना छ ।
एनिहरु यसअघि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा र पोखराको अस्पतालमा जाने गरेका थिए । प्रसुति हुनका लागि लाखौ रुपैयाँ खर्च हुने गर्दथ्यो । कमजोर आर्थिक अवस्था भएका गर्भवतिहरु घरमै असुरिक्षत रुपमा बच्चा जन्माउन बाध्य थिए । सदरमुकाम देखि नजिकै भएर पनि रत्नेचौरमा बर्थिङ सेन्टर स्थापना हुन सकेको थिएन् ।
घरमै सुत्केरी हुनुलाई मातृ शिशू स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ । बर्थिङ सेन्टरबाट रत्नेचौर, उपल्लाचौर, अर्जम, भकुण्डेका गर्भवतिहरुलाई पनि सुबिधा पुग्ने जनाइएको छ । सुत्केरी हुनका लागि गाउँ बाहिर जाँदा हुने समय र आर्थिक बचत हुने अपेक्षा गरिएको छ ।‘जनशक्ति भएपनि सुबिधा दिन सकिएको थिएन्,’ स्वास्थ्य चौकीका प्रमुख जिसीले भन्नुभयो ‘थप एक जना जनशक्ति आएपछि चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन हुन्छ ।’ बर्थीङ सेन्टरको सोमबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।
सांसद थापाले सरकारले मातृ शिशू मृत्यु दर घटाउन, पोषण सुधार र आम नागरिकको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउन पहल गरेको बताउनुभयो । सुरक्षित प्रसुति सेवालाई प्रभावकारी बनाउन र सरकारी स्वास्थ्य संस्थाहरुको सेवाप्रति विश्वास तथा आकर्षण बढाउन जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय अगुवा नेत्रबहादुर महत, सन्तोष रावल, राजनीतिक दल, आमा समूहका प्रतिनिधिहरुको उपस्थिति थियो । बर्थिङ सेन्टर स्थापना भएपछि रत्नेचौरका महिलाहरु खुसी भएका छन् ।