सामुदायिक विद्यालयमा सिकाइ सुधारले तान्यो विद्यार्थी

  • १७ भाद्र २०७६, मंगलवार
  • धिरन खत्री
  • 3541 पटक पढिएको

 

म्याग्दी, १७ भदौँ । मंगला गाउँपालिका– १ मा रहेको जनआवाज आधारभूत विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दो छ । जिल्लाको ग्रामिण भेगमा रहेका धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा यस विद्यालयमा भने विद्यार्थी संख्या सन्तोषजनक रहेको छ । २०६२ सालमा स्थानीय लालीगुराँस बोडिङ स्कुललाई समेत विस्थापन गरेको यस विद्यालयले आफ्नो शैक्षिक गुणस्तर सुधारलाई निरन्तरता दिएको छ ।


सामुदायिक विद्यालयको खस्कदो शैक्षिक अबस्थाले ग्रामिण भेगका अधिकाँश विद्यालयले विद्यार्थी अभाबको सामना गरिरहेका छन् । तर जनआवाज विद्यालयमा भने विद्यार्थीको अभाब होइन बरु आकर्षण बढेको छ । कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले ८४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको बालमैत्री सिकाइ, स्तरीय पठनपाठन, समुदायको रचनात्मक सहयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधार भएको विद्यालयका प्रधानध्यापक सुनबहादुर विश्वकर्मा बताउँछन् ।


यस विद्यालयमा बालबालिकाको लागि फर्निचर लगायतको बालमैत्री व्यवस्थापन गरिएको छ । साना–साना बालबालिकालाई साना टेबुल र कुसनको व्यवस्था छ । शिक्षण सिकाइमा अधिकतम शिक्षण सामाग्रीको प्रयोगलाई जोड दिने गरिएको छ । हरेक कक्षाकोठामा शैक्षिक सामाग्रीले सजावट गरिएका छन् । विद्यार्थीले निर्माण गरेका चित्रकला र शैक्षिक सामाग्रीलाई समेत पदर्शनको व्यवस्था गरिएको छ । विद्यालयमा आएका विद्यार्थीलाई खुसी भएर पढ्ने वातावरण बनाउनु नै विद्यार्थी आकर्षणको प्रमुख कारण रहेको प्रअ विश्वकर्माको भनाई छ ।


‘‘ हाम्रो विद्यालय सेवा क्षेत्रमा कोहि पनी बालबालिका विद्यालयको पहुँच बाहिर छैनन्, यहाँबाट बिचैमा बाहिर जाने संख्या छैन, सामुदायिकमा राज्यको ठुलो लगानी छ, समुदायको साथ र सहकार्यमा अधिकतम व्यवस्थापनले यो सम्भव भएको हो’’–प्रअ विश्वकर्माले भने । यस विद्यालयको शैक्षिक सुधारमा समुदायको ठुलो योगदान रहेको छ । व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ र बालबालिकाका अभिभावकहरु नियमित रुपमा विद्यालयको सम्पर्कमा रहेर शिक्षण सिकाइलाई नजीकबाट अवलोकन गर्ने गरेका छन् । यस विद्यालयको शैक्षिक सुधारले सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षाको ग्यारेन्टी सम्भव रहेको उदाहरण बनेको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिईन् । गाउँपालिकामै नमुना विद्यालयको रुपमा चिनिएको जनआवाज आधारभुतको भौतिक र शैक्षिक विकासमा गाउँपालिकाले सहकार्य गर्ने उनले बताईन् ।

विद्यार्थीलाई विद्यालयमै खाजा

जनआवाजले विद्यार्थीहरुलाई विद्यालयमै खाजाको व्यवस्था गरेको छ । विद्यालय परिसरमा पूर्ण रुपमा चाउचाउ, विस्कुट लगायतका जंगफुडलाई निधेष गरेको छ । एक जना कर्मचारीको व्यवस्थापन गरि विद्यालयका सबै विद्यार्थीलाई दैनिक खाजाको प्रवन्ध मिलाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितमान गौचनले बताए । गत मंसीरदेखि अभिभावकले स्थानीय उत्पादनलाई विद्यालयमा पु¥याईदिने र विद्यालयले नियमित रुपमा खाजाको प्रवन्ध मिलाईएको छ । विद्यालयमै खाजाको व्यवस्थाले विद्यार्थीहरुलाई विद्यालयमा थप आकर्षित गरेको छ ।


विद्यालय सुधारको लागि कोष स्थापना
२ दरबन्दि, २ राहत दरबन्दि रहेको यस विद्यालयमा २ जना नीजि स्रोतका शिक्षक राखिएको छ । नीजि स्रोतका शिक्षकलाई तलब र अन्य शैक्षिक सुधारको लागि अभिभावक र समुदायबाट रचनात्मक सहयोग हुँदै आएको छ । चन्दा संकलन र सहयोगबाट विद्यालयमा अहिले करिब रु ६ लाख बढीको कोष रहेको छ । विद्यालयको समग्र शैक्षिक सुधारमा समुदायबाट आर्थिक, नैतिक सहयोग जुट्ने गरेको विद्यालयका अध्यक्ष गौचनले जानकारी दिए । सहयोग संकलनको लागि विद्यालयमा तस्बिर राख्ने अभियान सञ्चालन गरिएको छ ।


प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी
कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सिकाइमा सुधार ल्याउन २०१६ जुलाईबाट म्याग्दीका २५ वटा विद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम सुरु भएको थियो । जनआवाजमा समते यो कार्यक्रम तीन बर्ष सम्म निरन्तरता पायो । विद्यालयको कक्षाकोठा ब्यवस्थापन, शिक्षण शैली परिर्वतन, बालबालिकाहरुमा पढ्न र लेख्नको लागि रुचि तथा सिप बढाउन उद्देश्यले यो कार्यक्रम लागु गरिएको थियो । साविक जिल्ला शिक्षा कार्यालयको समन्वयमा प्लानको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सञ्चालन गरेको यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार र बालमैत्री शिक्षण सिकाइमा रचनात्मक परिवर्तन आएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दलबहादुर थापाले बताए । यस कार्यक्रमले विद्यार्थीको बसाई व्यवस्थापन, अभिभावक शिक्षा, विद्यार्थी समुह निर्माण र पठनबोर्ड निर्माण, अतिरिक्त क्रियाकलाप लगायतको माध्ययमबाट विद्यालयहरुमा सकरात्मक शिक्षण सिकाइको सञ्चार गराएको छ । विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, ब्यवस्थापन समिति लगायतलाई जिम्मेवारी बढाउन, शिक्षणमा बसाई ब्यवस्थापनमा सुधारमा महत्वपुर्ण सहयोग पुगेकोे जनआवाज आधारभूत विद्यालयका प्रअ विकले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l