बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिका लागि शिलन्यास

  • ३१ श्रावण २०७६, शुक्रबार
  • 2913 पटक पढिएको

बेनी ३१ साउन । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नति सुरु भएको छ ।कालोपत्रे गर्ने लक्ष्य सहित पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको सडक स्तरोन्नति आयोजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार रातोढुङ्गामा शिलन्यास गर्नुभयो ।

शिलन्याससँगै निर्माण कम्पनी बिरुवा–क्याराभन जे.भीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । शिलन्यास कार्यक्रममा उपाध्यक्ष बिटालु, मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुवेदी, मंगला गाउँपालिका–२ का वडा अध्यक्ष धनबहादुर खाती लगायत जनप्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति थियो ।

अध्यक्ष रोका र उपाध्यक्ष बिटालुले गुणस्तरीय हिसाबले तोकिएको समयमा काम सक्न अनुरोध गर्दै स्थानीय स्तरमा हुने समस्याको समाधानका लागि सहजिकरण गरी काम गर्ने वातावरण बनाइने प्रतिवद्धता जनाउनुभयो । मंगला गाउँपालिका–२ लाम्पाटा देखि दरवाङको म्याग्दीखोला पुल सम्म १६ किलोमिटर सडक कालोपत्रे गर्न २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

गण्डकी प्रदेश सरकारले सबै निर्वाचित क्षेत्रमा “एक निर्वाचन क्षेत्र र एक सडक आयोजना” सञ्चालन गरेको छ । प्रदेशको क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुनको सिफासिरमा लाम्पाटा देखि दरवाङ जोड्ने सडक कालोपत्रे हुन लागेको हो । अर्का सांसद बिनोद केसीको सिफारिसमा रघुगंगा गाउँपालिकाको गलेश्वर देखि पिप्ले–भगवती हुदै बेग जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिको काम पनि सुरु भएको छ । २४ महिनाको ठेक्का अवधि भएको दुई वटै आयोजनाले हाल कच्चि अवस्थामा रहेका सडकको ग्रेड, घुम्ती सुधार, फराकिलो बनाउने, नाली, पर्खाल लगाएर कालोपत्रे गर्ने छन् ।

११ मिटर फराकीलो बनाइने बेनी–दरवाङको सात मिटर र गलेश्वर–बेगको ५.५ किलोमिटर कालोपत्रे गरिने सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो । पूर्वाधार विकास कार्यालय मार्फत हाल बेनी देखि बाबियाचौर सम्मको १३ किलोमिटर सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भैरहेको छ ।