जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)

  • ३० श्रावण २०७६, बिहीबार
  • 4050 पटक पढिएको

बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन् ।

समुन्द्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा अबस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पुजाआजाको लागि अघिल्लो दिन नै भक्तजनहरु पुगेका छन् । त्यसैगरि करिब ४ हजार ६ सय मिटर उचाईमा रहेको ऋखार समेत भक्तजनहरुको विहानैदेखि भिड लागेको ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो ।


जनैपूर्णिमाको दिन आफ्नो मनोकांक्षा लिएर नांगीबराही, भगवतीको नौलीबराही र घरम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनहरुको भिड लागेको छ । यी तलाउ र थानमा जनैपूर्णीमाको अवसरमा मनोकांक्षा पुरा हुने जनविश्वासका साथ भक्तजन र सर्वसाधारणले पुजाआजा र भाकल गर्ने चलन रहेको छ ।


अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरभारनी र धौलागिरीको फेदीमा अवस्थित रिखारको थान र तालमा स्नान र पुजापाठको लागि पुग्न करिब तीन दिन लाग्छ । पर्यटकीय दृष्टिकोणमा समेत महत्वपूर्ण स्थल भएकाले हरेक बर्ष यि क्षेत्रमा पुजापाठ संगै भम्रणको लागि समेत जानेहरुको संख्या बढेको छ । खयर भारनी तलाउ र थानको नजीकबाट अन्नपूर्ण , धौलागिरी, बराह शिखर लगायतका हिमसृखलालाई नजिकबाट दृस्याबलोकन गर्न सकिन्छ ।

यो ताल म्याग्दीकै अग्लो स्थानमा रहेको तालको रुपमा चिनिन्छ । त्यस्तै बेनीबाट दुई दिनको पैदल दुरीमा रहेको ‘ऋखार क्षेत्र’मा समेत पूर्वाधार निर्माण गर्न थालिएको छ । यस क्षेत्रमा पुग्ने भक्तजन तथा पर्यटकहरुको सुविधाको लागि पदमार्ग, धर्मशाला सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

यस क्षेत्रमा सप्त ऋषि एवम पौलत्स्य ऋषि र स्वर्गद्धारी महाप्रभुले समेत तपस्या गरि ज्ञान आर्जन गरेको धार्मिक विश्वास रहेको छ । धौलागिरीको काखमा करिब ४ हजार ५ सय मिटर उचाईमा रहेको ऋखारमा तलाउ माथि डुङ्गा आकारको ढुंगामा मन्दिर रहेको छ । यहाँ कहिल्यै नसुक्ने पानी रहनु थप आकर्षण हो ।