विप्लपका नेतालाई थुनामा राख्न कारागार पठाइयो ( भिडियो सहित)
- २९ श्रावण २०७६, बुधबार
- 2769 पटक पढिएको
बेनी २९ साउन । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द् (विप्लव) समूहका दुई नेता बुधबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश माधवेन्द्रराज रेग्मीको बुधबारको इजलासले विप्लव समूहका जिल्ला इञ्चार्ज नकाल क्षेत्री (बिकिरण) र सेक्रेटरी बाबुलाल शाक्यका विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै कारागार चलान गर्न आदेश दिएको हो ।
तोकिएको जनही पैतीस हजार रुपैयाँ धरौटी बुझाउन नसक्ने बताएपछि दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला कारागार पठाइएको अदालतले जनाएको छ । बागलुङ नगरपालिका–३ का ४८ वर्षीय शाक्य र सानीभेरी गाउँपालिका–२ रुकुमका ४२ वर्षीय क्षेत्रीलाई प्रहरीले साउन ६ गते बेनी नगरपालिका–३ नयाँपुलबाट ध १ प २१७० न.को यामाहा मोटरसाईकल सहित पक्राउ गरेको थियो ।
उनिहरुमाथि स्थानीय तहका पदाधीकारी, ब्यापारी तथा कर्मचारीहरुलाई धम्काई जवरजस्ति चन्दा असुलि गरेको, २०७५ फागुन ११ गते म्याग्दीमा रहेका ५ वटा एनसेलको टावरमा आगजनी गराएको र प्रतिबन्धित विप्लप समूहको गतिबिधिमा संलग्न भएको आरोप छ ।
क्षेत्री र शाक्यको पक्षमा सात जना वकिलहरुले बहस गरेका थिए । बागलुङमा पनि म्याग्दीकै जस्तो आरोपमा अर्को मुद्दा लगाएर अदालतबाट छुट्ने वित्तिकै पुनः पक्राउ गर्न खोजिएकाले घरौटी नबुझाएको क्षेत्री र शाक्यले बताएका छन् । एकै प्रकृतिको आरोपमा छुट्टा छुट्टै मुद्दा लगाएर राज्यले दुख दिएको उनिहरुको प्रतिक्रिया थियो ।