म्याग्दीमा हरियाली मेडेलको कृषि फार्म (फोटो फिचर)

  • २० श्रावण २०७६, सोमबार
  • 5910 पटक पढिएको

सन्तोष गौतम
बेनी २० साउन । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा ब्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले अघि सारेको अवधारणा अनुसार बेनी नगरपालिका–४ सिंगा र आगेबगरमा हरियाली समूहले करिब छ करोड रुपैयाँको लगानीमा कृषि फार्म सञ्चालन गरेको हो । ‘विश्वमा सफल मानिएका अवधारणाहरुलाई मिलाएर विकास गरिएको हरियाली मोडल म्याग्दीमा पाइलट प्रोजेक्ट हो,’ श्रेष्ठले भन्नुभयो ‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ ।’

युवाहरुलाई उत्पादनमा जोडेर रोजगारी दिने र आयात घटाउने नेपालको आवश्यकता अनुसार दक्षिण अफ्रिकाको सामुहिक खेती “टिम्बाली” र भारतका दूध उत्पादक कृषकहरुले अपनाएको “आमुल” मोडललाई समावेश गरिएको श्रेष्ठले बताउनुभयो । ३६ जना कृषकहरुको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा छ÷छ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक सेरबहादुर केसीले बताए ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३६ जना कर्मचारी तथा मजदुर मध्य अधिकांश जग्गाधनी छन् । जग्गाको भाडा संगै रोजगारी पाउनुका साथै खडेरी, मल–बिउ, कृषि मजदुर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताउनुभयो । ‘बजार नजिक, सडक सुबिधा, अनुकुल हावापानी र ठूलो फाँट भएपनि खण्डीकृत जमिन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिचाईको अभावले कृषि जिविकोपार्जनमा सिमित थियो,’ खड्काले भने ‘समुहकृत खेती सुरुवात भएपछि अवस्था फेरिएको छ ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरि लिफ्ट प्रबिधिबाट पानी तानेर सिचाइको व्यवस्था मिलाइएको छ । बाह्ै महिना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनि, ग्रास र कमन कार्प जातका माछा पालिएको छ । मासु र अण्डाका लागि छुट्टा÷छुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताउनुभयो । १०० घारमा माहुरी पालिएको र १०० रोपनी खुल्ला जमिन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रबिधिको पलास्टिक घर भित्र तरकारी लगाइएको छ ।

चालीस लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताउनुभयो । कम्पनीमा आवद्ध बाहेक अन्य साना कृषकहरुले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाएको छ ।छिट्टै बोयर जातका बाख्रा र वनजन्य पंक्षि कालीज पालन गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष सुजता श्रेष्ठले बताउनुभयो । गोरखा र रोल्पामा पनि हरियाली मोडलमा कृषि फार्म सञ्चालन हुन लागेको उहाँले बताउनुभयो । जग्गाधनी कृषकहरु सहित ५० जनाको लगानी रहेको कम्पनीले जग्गा चक्लाबन्दी र पूर्वाधार तयार पार्ने सहितको काममा छ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । सरकारी निकायबाट अनुदान सुबिधा नलिएको सञ्चालक हरि भण्डारीले बताउनुभयो । तरकारी खेतीमा रासायनिक मल र विषादी प्रयोग गरिएको छैन् । गाइबस्तुको मल, कुखुराको सुली र पात पतिंगर कुहाएर प्राङगारिक मलको प्रयोग गरिएको कृषक तेजबहादुर बानियाले बताउनुभयो । कम्पनीमा कार्यरत सबैलाई सरकारले तोकेको पारिश्रमिकको व्यवस्था गरेको छ ।


कृषक केदारनाथ पौडेलले सानो क्षेत्रफलमा थोरै परिणाममा खेती गर्दा लागत बढी पर्ने र मुनाफा कम हुने भएकाले कम्पनीमा आवद्ध भएको बताउनुभयो । चक्लाबन्दी भएपछि सिचाई सुबिधा भएको, ठूलो परिणाममा उत्पादन भएकाले र बजारीकरणमा सहयोग पुगेको छ । बेनी, पोखरा, मुस्ताङ र तनहुँका बजारमा कृषि उपज निकासी हुने गरेको छ । खेतीमा आधुनिक कृषि औजारको प्रयोग गरिएको छ । चक्लाबन्दी गर्न नक्साङ्कन, बिजुली, निकास आदीको व्यवस्थापन कम्पनीलेनै गरेको थियो ।

बेनी नगरपालिका –४ का वडा अध्यक्ष गोविन्द पौडेलले जमिन चक्लाबन्दी गरि एकिकृत रुपमा गरिएको खेतीले सिंगालाई कृषिमा नमुना बनाउन मद्दत गरेको बताउनुभयो । परम्परागत निर्वाहमुखी खेतीमा निर्भर कृषकहरुलाई ब्यवसायिक बनाउन प्रेरित गरेको उहाँको भनाई छ ।

smacap_Bright