झोलुङ्गे पुलले आधा घण्टाको बाटो ४ मिनेटको बनायो
- १४ श्रावण २०७६, मंगलवार
- धिरन खत्री
- 2441 पटक पढिएको
म्याग्दी, १४ साउन । बेनी र बागलुङ नगरपालिकाको सिमानामा रहेको ठूलो खोलामा झोलुङ्गे पुल बनकेको छ । २ सय ६० मिटरको लामो पुल बनेपछि आधा घण्टाको बाटो चार मिनेटमा छोटिएको छ।
बेनी नगरपालिका २ फापरखेतको रातोभीरदेखि बागलुङ नगरपालिका २ चनौटेको खोचमाथि २६० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको सर्वसाधारण आवातजावातको लागि सहज भएको छ ।
सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले एक करोड ३९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरेको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापाले जानकारी दिए।
चनौटेका बालबालिकाहरुलाई अर्जन मावि भकुण्डेमा पढ्न आउन सहज भएको छ । पुल निर्माण भएपछि बेनीको फापरखेत, अर्जम, भकुण्डे, बागलुङको चनौटे, सिम, पञ्चकोट, मालिकाका बासिन्दालाई सहज भएको छ।
अग्लो पहाडको खोचमाथि पुल बनाइएको छ। पुलबाट ५०० घरधुरी लाभान्वित भएका छन्।भकुण्डेबाट बागलुङ जादै गरेका स्थानीय कृष्णबहादुर चर्माकारले ‘पुल नहुँदा तीस मिनेट घुमाउरो बाटो हिड्नुपर्ने समस्या पुलले ४ मिनेटमै छोट्याएको बताए । पुलको प्रचारप्रसार र स्थानीय उत्पादनलाई जोड दिएमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धिसंगै होटल ब्यवसाय थप भएर रोजगारी समेत सिर्जना हुने देखिन्छ ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l