धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

  • १२ श्रावण २०७६, आईतवार
  • 4245 पटक पढिएको

 

ताकम १२ साउन । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधीकारी, शिक्षक, अगुवा र बाल क्लवका प्रतिनिधिहरुले धवलागिरी गाउँपालिकालाई बालबिवाहमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।चेतना, शिक्षाको कमी, घरमा उचित वातावरण नहुनु, गरिबी, प्रबिधिको दुरुपयोग, प्रेमसम्बन्ध, खराब संगतका कारण बालबिवाह प्रमुख सामाजिक समस्या बनेको छ । बालबिवाहको कारण मातृ शिशू मृत्युदर, महिलाको स्वास्थ्य, शिक्षा र संवेगात्मक विकासमा असर, गरिबी, बहुबिवाह, सम्बन्ध बिच्छेद, घरेलु हिंसा जस्ता समस्या उत्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बालबिवाह न्युनीकरण गर्न अभियान सुरु गरेको जानकारी गराउँदै यसमा समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । बालबिवाहले सामाजिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य, आर्थिक क्षेत्रमा ठूलो असर गरेकाले यसलाई हटाउनु सबैको दायीत्व हुने बताउनुभयो ।

उमेर सान्दर्भिक बिवाहसंग उपाध्यक्ष, सुनौला हजार दिनका आमासंग अध्यक्ष जस्ता कार्यक्रम मार्फत बालबिवाह न्युनीकरण, मातृ शिशू स्वास्थ्य र पोषण सुधारमा जोड दिएको बताउनुभयो ।
उपाध्यक्ष रेशम छन्त्यालले बालबिवाह न्युनीकरणका लागि पहिलो चरणमा सचेत बनाइएको र अब अटेरी गरेमा कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयनमा लगिने चेतावनी दिनुभयो । कानुनले अपराध मानेको बालबिवाह नियन्त्रण गर्नु स्थानीय सरकारको दायीत्व भएकाले यसलाई महत्व दिएको उहाँको भनाई थियो ।

२० वर्ष भन्दा अघि बिवाह गरेकालाई सम्झाई बुझाई गरेर अलग्याउने नीति लिएको बताउदै मुद्दा समेत दर्ता गर्न सकिने बताउनुभयो । कार्यक्रमको प्रस्तुतीकरणा गर्दै सिवीन म्याग्दीका संयोजक बसन्त ढुंगनाले २० वर्ष अघि बिवाह गर्नेलाई तीन वर्षसम्म कैद र  ३० हजारसम्म जरिवाना हुने जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बालबिवाह हुन लागेको सूचना प्रहरीलाई गर्न आग्रह गर्नुभयो । बालबिवाहको साथै शारिरिक सम्पर्क भएको अवस्थामा बलात्कारको समेत मुद्दा चलाउन मिल्ने प्रहरी निरिक्षक पाण्डेको भनाई थियो ।

गाउँपालिकाको शिक्षा शाखाका संयोजक गिरीप्रसाद छन्त्यालले बालबिवाह न्युनीकरणका लागि विद्यालयमा गठन भएका बाल क्लव मार्फत सडक नाटक प्रर्दशनीका साथै बालबिवाह गर्नेहरुलाई अलग्याइएको बताउनुभयो ।हेम माविको बाल क्लवकी अध्यक्ष चन्द्रकुमारी गोतामेको अध्यक्षता, संगम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल संयोजक दोर्ण जिसीले स्वागत गर्नुभएको थियो ।

धनजनता माविको बाल क्लवका अध्यक्ष प्रकाश पुनले बाल क्लवहरुलाई जनचेतनामुलक कार्यक्रम गन बजेटको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।