म्याग्दी भ्रमण बर्ष कति सफल ? बढ्न सकेन् म्याग्दी घुम्ने पर्यटकको संख्या !
- १२ श्रावण २०७६, आईतवार
- 2074 पटक पढिएको
सन्ताेष गाैतम
बेनी ११ साउन : म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्या स्थिर देखिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा ०७५/०७६ मा साढे चार सय जनाले मात्र पर्यटकको संख्या बढेको छ । नयाँ पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु र भएका पर्यटकीय स्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको बताइन्छ । उद्योग वाणिज्य संघको अगुवाइमा म्याग्दी भ्रमण वर्ष २०७५ मनाइएपनि त्यसले पर्यटक आगमन बृद्धीमा योगदान गर्न सकेन् । देश र प्रदेशमा भित्रने पर्यटकको संख्या भने बढेको तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७५ साउन देखि २०७६ असार सम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ७५ हजार १९१ जना छ । आर्थिक वर्ष २०७४/७५ मा ७४ हजार ७३३, २०७३७४ मा ६९ हजार ८३७ जना बिदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । २०७२७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६३२ जना थियो । गत वर्ष म्याग्दी भित्र्ने पर्यटक ४३ हजार ४२८ र बाहिरिने ३१ हजार ७६२ जना छन । कात्तिक महिनामा सबै भन्दा बढी १४ हजार २९७ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा तीन हजार ४४६, भदौमा तीन हजार ९२, असोजमा नौ हजार ५३२, मंसिरमा पाँच हजार बीस, पुषमा चार हजार ३४२, माघमा चार हजार ४१, फागुनमा चार हजार ९९०, चैतमा दश हजार ४५१, बैशाखमा दश हजार पाँच, जेठमा चार हजार १४२ र असारमा एक हजार ८३३ जनाले भ्रमण गरेका छन् ।
घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङ स्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहीरीने पर्यटकको विस्तृत विवरण सहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताउनुभयो । म्याग्दीमा आउने मध्य असी प्रतिशत भन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आईसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजार लगायत धार्मिक, प्राकृतिक र ऐतिहाँसिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मन, कोरीया, चिन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन् । पछिल्लो समय चिनीया, कोरीया र भारतीय पर्यटकको आगमन बढेको छ ।
बन्द हडताल नहुने र राजनीतिक वातावरण सहज भएमा पर्यटक आगमन बढ्ने अपेक्षा छ । आन्तरिक पर्यटकको आगमन समेत उल्लेख्य रहेको छ । तर उनिहरुको तथ्याङ्क राख्ने गरिएको छैन् । पर्यटकको आगमन बढेसंगै पर्यटकीय स्थलहरुमा सुबिधासम्पन्न होटल तथा लज र पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ ।
बेनी, तातोपानी, घोरेपानी लगायत स्थलमा पर्यटकलाई लक्षित गरेर सुबिधासम्पन्न होटल तथा लज सञ्चालन भएका छन् । पुराना होटलले सुविधा र क्षमता बढाएका छन् । गण्डकी प्रदेश सरकारले सन २०१९ लाई आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकको संख्या बढेपनि केही वर्षयता उनिहरुले गर्ने खर्चको दर घट्दै गएको होटल ब्यवसायीहरु बताउँछन् । धेरै खर्च गर्न सक्ने पर्यटक भित्र्याउन र पर्यटन ब्यवसायमा कमिसनको लोभमा मौलाउँदो बेतिथीलाई नियन्त्रण गर्नुपर्ने होटल ब्यवसायीहरुले बताएका छन् ।