आबास स्मृति अक्षयकोषबाट आर्थिक सहयोग
- ११ श्रावण २०७६, शनिबार
- 1796 पटक पढिएको
म्याग्दी ११ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थापना गरिएको आबास स्मृति अक्षयकोषबाट रु ५५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । विभिन्न रोगबाट पिडित भएर उपचाररत ५ जनालाई रु १० हजारका दरले उपचार सहायता प्रदान गरिएको छ । भावि शेरपुञ्जा, टेक बहादुर गर्वुजा, दिलमायाँ गर्वुजा, खुसी गर्वुजा र देवी गर्वुजालाई जनही रु १० हजारका दरले आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरि घरको आर्थिक अबस्था कमजोर हुँदाहुँदैपनि गाउँमा बाटा,े चौतारो बनाउने लगायतका सामाजिक कार्यमा सक्रिय रहनुभएका चन्द्रबहादुर गर्वुजालाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिएको छ । कार्यक्रममा अक्षयकोषका अध्यक्ष गुन पुर्जा, सचिब गुन पुन ‘गुन्जन’ लगायतले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
दग्नामका तुलप्रसाद र देवी गर्वुजा दम्पतीका छोरा आबासको २०७२ साल चैत १५ गते उपचारको क्रममा निधन भएको थियो । जनता माविमा कक्षा ५ मा अध्ययन गर्दै गरेका आबासको घुडामा लागेको चोटको घाउ क्यान्सरमा बदलिएपछि उनको उपचारकै क्रममा निधन भएको थियो । आबासको उपचारमा दग्दाम मिडिया कमिटि र एकता युवा क्लबको सक्रियतामा देश तथा विदेशमा रहेका दग्नामबासीहरुको सक्रियतामा आर्थिक संकलन गरिएको थियो ।
उपचारको क्रममा संकलन भएको रकममध्ये बचत भएको रु ४ लाख रकमलाई घरपरिवारको चाहना बमोजिम आबासको स्मृतिमा अक्षयकोष स्थापना गरिएको थियो । अहिलेसम्म सो कोषबाट रु १ लाख ८७ हजार २ सय व्याज रकम प्राप्त भएको र १ लाख २८ हजार रकम विरामीहरुको उपचार लगायतको क्षेत्रमा खर्चिएको अक्षयकोषका सचिब पुनले जानकारी दिनुभयो ।