बेनी बजार भित्र्ने बैकल्पिक सडक सञ्चालन

  • १० श्रावण २०७६, शुक्रबार
  • 2389 पटक पढिएको

बेनी १० साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा बढ्दो सवारी जामको समस्या हटाउनका लागि बैकल्पिक सडक सञ्चालन गरिएको छ । बेनी नगरपालिकाले वडा न. ८ कालीपुल देखि विद्युत प्राधिकरणको कार्यालय भएको घर हुदै गणेशटोल जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो ।

यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पिपलचोक क्षेत्रमा हुने सवारी साधनको जाम कम हुने वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो । मोटरसाइकल, ट्याक्सी र जिप आवत जावत गर्न सक्नेछन् ।  १६ फिट अग्लो पर्खाल बनाएर माटो राखेर फिलीङ गरि एकतर्फी सवारी आवत जावत गर्न सक्ने करिब एक सय मिटर दुरीको सडक बनाइएको उपभोक्ता समितिका अध्यक्ष भिमसेन बराइलीले बताउनुभयो । सडकको घुम्तीमा रेलीङ र ढलान गरिएको छ ।

बेनीको सवारी जामलाई कम गर्ने उद्देश्यले निर्मीत यो सडकले करिब एक किलोमिटर घुमाउरो बाटो एक सय मिटरमा छोटिएको स्थानीय रामनारायण श्रेष्ठले बताउनुभयो । सडक निर्माणका लागि नगरपालिकाले गत आर्थिक वर्षमा दश लाख बिनियोजन गरेको थियो । गत वर्ष बिनियोजित पाँच लाख रुपैयाँबाट सडक निर्माण सुरु भएको थियो । कुल लागतको पन्ध्र प्रतिशत जनसहभागिता रहेको उपभोक्ता समितिले जनाएको छ ।