बेवारिसेलाई मानव सेवा आश्रममा लगियो
- ९ श्रावण २०७६, बिहीबार
- 2825 पटक पढिएको
बेनी ९ साउन । बेनी बजारमा विगत दुई महिनादेखि बेवारिसे अवस्थामा डुल्दै आएका एक पुरुषलाई पोखरा स्थित मानव सेवा आश्रममा लगिएको छ । मानसिक सन्तुलन गुमाएका ती व्यक्तिलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनको पहलमा बुधबार पोखरा लगेर उपचार र आश्रयको व्यवस्थापन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।
अन्दाजी ४०–४५ वर्षका ती व्यक्ति मुदीका सकबहादुर घर्ती भएको खुलेको छ । उनको मानसिक अवस्था ठिक छैन् । घरमा बस्नै नमान्ने, परिवारका सदस्य तथा गाउँलेहरुलाई पनि डर धम्की देखाउने गर्दै आएका थिए । घर फर्काउन प्रयास गरेपनि मानेका थिएनन् । घर जान नमानेपछि उपचार र आश्रयका लागि मानव सेवा आश्रममा लगिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।
अध्यक्ष पुनले घर्तीलाई व्यक्तिगत खर्चमा कपडा र चप्प्ल किनेर दिनुभएको छ । आश्रमलाई तीन हजार रुपैयाँ पनि उपलब्ध गराएको उहाँले बताउनुभयो । मानव सेवा आश्रमले स्वमसेवक रुपमा सडकमा बेवारिसे मानिसलाई उपचार र आश्रय दिने गर्दै आएको छ । सडकलाई बेवारिसे मानव मुक्त बनाउने र बेचबिखन हुनबाट जोगाउने उद्देश्यले मानव सेवा आश्रमयले देशभर अभियान चलाएको छ ।