बजारमा म्याद नाघेका सामग्री भेटिए

  • ६ श्रावण २०७६, सोमबार
  • 1749 पटक पढिएको

बेनी ६ साउन । बजार अनुगमनका क्रममा पसलमा म्याद नाघेका सामग्री भेटिएका छन् । बेनीको मंगलाघाट क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो । जिल्ला बजार अनुगमन समितिका संयोजक लीलाधर अधिकारीको नेतृत्वमा मंगलाघाटमा आठ वटा खाद्यान्न पसलमा अनुगमन गरिएको थियो । म्याद नाघेका चाउचाउ, भुजिया, कुरकुरे लगायतका खाद्यान्न भेटिएका थिए ।

म्याद नाघेका सामान संकलन गरेर डिलरलाई फिर्ता गर्न निर्देशन दिएको टोलीले जनाएको छ । यसैगरी मूल्यसूचि अद्यावधि गरेर राख्न समेत निर्देशन दिएको छ । अनुगमनमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, कोष तथा लेखा नियन्त्रक प्रमुख चन्द्रशेखर सापकोटा लगायतको सहभागिता थियो ।

यसैगरी सहायक प्रजिअ महेश सुवेदीको नेतृत्वमा रघुगंगा गाउँपालिकाको बजार क्षेत्रमा अनुगमन भएको छ । गत जेठ देखि प्रत्येक महिनाको पहिलो सोमबार सबै स्थानीय तहमा एकै साथ बजार अनुगमन गर्न थालिएको थियो । अनुगमनका क्रममा बजारमा म्याद नाघेका सामग्री बिक्रिका लागि राखेको भेटिएर निर्देशन दिएपनि ब्यवसायीले सुधारमा बेवास्ता गरेका छन् ।