पाखापानीमा तालिम र सेवा केन्द्रको भवन निर्माण

  • ५ श्रावण २०७६, आईतवार
  • 2739 पटक पढिएको

सन्तोष गौतम
बेनी ५ साउन । रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा तालिम र सेवा केन्द्रको भवन निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न सिपमुलक तालिम सञ्चालनका लागि तीन सय जना क्षमताको तालिम केन्द्र भवन बनाइएको हो । तालिम केन्द्रको भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १४ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

ट्रस प्रबिधिको दुई तले भवनको भुई तलामा तालिम सञ्चालन गरिने र पहिलो तलामा बैठक, वडा कार्यालय, मेलमिलाप केन्द्र, संग्रहालय, वडा सचिवको कार्यकक्ष, वडा अध्यक्ष निवास र पाहुना बस्ने कोठा बनाइएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

पmलाम जोडेर बनाइएको भवनलाई पार्टेसन गरेर ८ वटा कोठा तथा कार्यकक्ष विभाजन गरिएको छ । तालिम केन्द्रको भवनलाई थप व्यवस्थित र घेराउका लागि यस वर्ष थप दश लाख रुपैयाँ बिनियोजन भएको छ । झिँ, पाखापानी र कुइनेमंगलेका बासिन्दाहरुलाई लक्षित गरेर विभिन्न सिपमुलक तालिम यो भवनमा सञ्चालन गरिने भएको छ । बिजुली वायरीङ, पलम्बिङ, वयल्डीङ, फर्नीचर, कार्पेन्टर जस्ता मागमा आधारित तालिम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । सिप विकासको माध्यमबाट गाउमै स्वरोजगार, विकास आयोजनामा रोजगार र विदेश जानका लागि सहज हुने अपेक्षा गरिएको छ ।

पाखापानीका साथै वडा न. २ भगवतीको रुइसेमा पनि यसै वर्ष तालिम केन्द्रको भवन बनाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार नयाँ आर्थिक वर्षमा पिप्लेमा पनि तालिम केन्द्र भवन बनाउन आवश्यक बजेट बिनियोजन भएको छ । तालिम केन्द्रसंगै गाउँपालिकाको सेवा केन्द्रका लागि एक वटा सभाहल सहितको दुई कोठे अर्को भवन निर्माण भएको छ । भवनको सभाहलमा अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, लेखा, योजना, प्राबिधिक र प्रशासन कक्ष बनाइने भएको छ ।

९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको छ । यसैगरी सयनकक्ष सहितको शौचालय समेत निर्माण भएको छ । भौगोलिक विकटताका कारणले झिँ, पाखापानी र कुइनेका बासिन्दालाई मौवाफाँट स्थित गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिन सास्ती हुने भएकाले पाखापानीमा सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि भाडाको घरको कोठामा सञ्चालित वडा कार्यालयमै सेवा केन्द्र थियो ।