अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग

  • २ श्रावण २०७६, बिहीबार
  • 1838 पटक पढिएको

बेनी २ साउन । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवस्थामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

संघका अध्यक्ष उत्तम कर्माचार्यको नेतृत्वमा प्रशासनमा पुगेका प्रदेश महासंघका सदस्य कुबिर श्रेष्ठ, पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा, महासचिव लीलाराम गौतम र कोषाध्यक्ष अमित बानियाको टोलीले प्रजिअ लीलाधर अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ब्यवसायी र राज्यसंग उपलब्ध स्रोत साधन र प्रबिधिले नयाँ व्यवस्था कार्यान्वयन हुनै नसक्ने संघको माग छ । यसैगरी कामदार तथा कर्मचारीको तलब भुक्तानीका लागि स्थायी लेखा नम्बर पान अनिवार्य हुनुपर्ने, ढूवानीका साधनमा थप १३ प्रतिशत कर लगाउने, ६.५ अग्रिम आयकर कट्टि गर्ने व्यवस्था खारेजीको माग गरिएको महासचिव गौतमले बताउनुभयो ।