नगरपालिकालाई नयाँ भवन हस्तान्तरण

  • ३१ असार २०७६, मंगलवार
  • 2954 पटक पढिएको

 

बेनी ३१ असार । तत्कालीन जिल्ला भु–संरक्षण कार्यालयका लागि निर्माण भएको भवन सोमबार बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।२०७४ असार ५ गतेदेखि सुरु भएको भवन निर्माणकै क्रममा आर्थिक वर्ष २०७५/७६ देखि कार्यालय खारेज भएको थियो । जसको लागि बनाइएको भवन हो सो कार्यालय नभएपछि आवश्यकताका आधारमा नगरपालिकाले प्रयोग गर्ने गरि हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (बागलुङ)ले भ्याट बाहेक एक करोड ८० लाख रुपैयाँमा भवन निर्माण गरेको कार्यालयका प्रमुख उमेश चौधरीले जानकारी दिनुभयो ।तीन तले भवनमा कर्मचारी आवास सहित दश वटा कोठा छन् । अपाङ्गमैत्री भवन भुकम्प प्रतिरोधी क्षमताको भएको इकाईका अधिकृत बद्री गौतमले बताउनुभयो । ओखलढुङ्गा–बि.एम.ए–जयकालिका जेभी बागलुङले अठार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का लिएको भवन पुरा गर्न छ महिना म्याद थप भएको थियो ।

इकाइका प्रमुख चौधरीले जिसस प्रमुख देवेन्द्रबहादुर कटुवाल, प्रजिअ लीलाधर अधिकारी, नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा लगायत जनप्रतिनिधि र अधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठलाई भवन हस्तान्तरण सम्बन्धी कागजात उपलब्ध गराउनु भएको थियो ।तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत साविकको बागलुङ स्थित डिभिजन कार्यालयले सुरु गरेको योजना संघीय संरचना अनुसार इकाईलाई हस्तान्तरण भएको थियो ।

नयाँ भवन प्रयोग विहिन बन्ने देखिएको र नगरपालिकालाई आवश्यक परेकाले समन्वय समिति, प्रशासन हुदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्विकृतिमा नगरपालिकाले प्रयोग गर्ने व्यवस्था मिलाएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।नयाँ भवनमा नगरपालिका अन्तरगत विषयगत शाखा कार्यालय स्थापना गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कृषि, शिक्षा, स्वास्थ्य, पशु सेवा, महिला तथा बालबालिका, सामाजिक विकास लगायत शाखाको कार्यालय नयाँ भवनबाट सञ्चालन गरिने उहाँले बताउनुभयो ।

हाल नगरपालिका अन्तरगतका विषयगत शाखाका लागि आवश्यक कार्यकक्ष अभाव भएको छ । साँघुरो कोठाबाट शाखा सञ्चालन हुदै आएको छ । भवन भवनमा शाखा कार्यालय स्थापना भएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको नगर उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।
फर्नीचर र कार्यकक्ष तयार पारेर भवनमा शाखा कार्यालय स्थापना गरिने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो ।