फलामेडाँडामा सामुदायिक डाइनिङ हल र बाह्य खोप केन्द्र

  • २३ असार २०७६, सोमबार
  • 2312 पटक पढिएको

पुर्ख पुर्जा
लोप्रे २३ असार । जलजला गाउँपालिका–५ स्थित पर्यटकीय स्थल फलामेडाँडामा सामुदायिक डाइनिङ हल र बाह्य खोप केन्द्र स्थापना भएको छ । स्वर्गीय बहुमती पुनको पुण्य स्मृतिमा उहाँका श्रीमान तुलबहादुर पुन र छोराहरु खिम पुन, बिनोद पुन, ओमप्रसाद पुन, भिमप्रसाद पुन र रामप्रसाद पुन तथा छोरीहरु कृष्णकुमारी पुन, डिलमाया पुन र लालकुमारी पुनको सहयोगमा डाइनिङ हल र खोप केन्द्र स्थापना भएको हो ।

सुर्योदय, ग्रामिण बस्ती, हिमाल र पहाडी भुगोलको मनोरम दृष्य अवलोकनका लागि लोप्रे भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सुबिधाका लागि डाइनिङ हल निर्माण गरिएको हो । यसैगरी बालबालिकाहरुलाई सहज रुपमा खोप सेवा उपलब्ध गराउन सोही भवनमा खोप केन्द्र पनि स्थापना गरिएको छ ।

डाइनिङ हल र खोप केन्द्रको भवन निर्माणका लागि तुलबहादुर पुनले १९ लाख २५ हजार, स्वास्थ्य कार्यालयले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए भने स्थानीयबासीले दुई लाख रुपैयाँ बराबरको श्रमदान गरेका चक्र पुनले जानकारी दिनुभयो ।

बाह्य खोप केन्द्रको अक्षयकोषका लागि तुलबहादुर पुनले एक लाख, सुवासिङ पुनले पचास हजार, चन्द्रबहादुर फगामीले पचास हजार सहयोग गर्नुभएको छ । यसैगरी इन्द्रकुमारी पुनले एक वटा हस्पिटल बेड, एक थान रक्तचाप जाँच गर्ने डिजिटल यन्त्र र दुई थान कुर्ची उपलब्ध गराउनुभएको छ ।

यसैगरी बाह्य खोप केन्द्रको भौतिक संरचना निर्माणमा रुकमाया पुर्जाले पचास हजार, बालकुमारी अर्मजाले पचास हजार र सेरु अर्मजाले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको छ । खोप केन्द्रबाट फलामेडाँडा, लोप्रे, डाँडाकटेरी, बनबडे लगायत बस्तीका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ ।

डाईनिङ हलमा स्थानीयबासीहरुले गाउँमा भित्र्ने पर्यटकहरुका लागि खाने बस्ने सुबिधाको व्यवस्था मिलाएका छन् । कृष्णबहादुर रन्तिजाको अध्यक्षता, तुलबहादुर पुनको प्रमुख आतिथ्यता, वडा अध्यक्ष तिलकबहादुर जिसीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुवापानी आमा समूह, बनबडे सोरठी, धौलागिरि आमा समूह र न्यु सृष्टि युवा क्लवका कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।