बेनपाको करिब त्रिपन्न करोडको बजेट सार्वजनिक

  • २२ असार २०७६, आईतवार
  • 1794 पटक पढिएको

 

म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरउपप्रमुख सञ्जु बरुवालले शनिबार पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आन्तरिक आयतर्फ तीन करोड तीन लाख, वित्तिय समानिकरण अनुदान तेह् करोड छत्तीस लाख, सशर्त अनुदान चौबीस करोड ९९ लाख, राजस्व बाँडफाँड नौ करोड सत्र लाख तीन हजार, सडक वोर्डबाट चालीस लाख, चालु वर्षमा खर्च हुन नसकेर बाँकी रहने दुई करोड रुपैयाँ बजेटको स्रोतमा अनुमान गरिएको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख बरुवालले बजेट प्रस्तुत गरेकी थिईन । उपप्रमुख बरुवालले बजेट प्रस्तुत गर्दै बजेटको लक्ष्य प्राप्तीका लागि राजनीतिक दल, सम्पूर्ण संघ संस्था र नगरबासीहरुको साथ र सहयोगबाट तर्जुमा भएका योजनाहरुलाई प्रभावकारी र वैज्ञानिक दंगबाट कार्यान्वयन गर्नुपर्ने बताईन ।


नगरसभा सदस्यहरुले छलफलका लागि समय मागेकाले २३ गतेसम्म नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए । केही नयाँ कार्यक्रम समावेश भएपनि समग्रमा विगतकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै नगरसभा सदस्यहरुले सुधारका लागि सुझाव दिएका थिए ।

बेनी देखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति गर्ने, कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउने, निजी र सहकारी क्षेत्रसंग साझेदारी गर्ने, लैङ्गिक समानता र समावेशी बनाउने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रर्वद्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेखित विषय पुरानै राखिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

एक वडा एक युवा क्लव, एक खेलमैदान, साना सिचाईलाई प्राथमिकता दिने, अण्डा, दूध र मासुमा आत्मनिर्भर बनाउने, विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दि मिलान गर्ने, नगर शिक्षा कार्यबिधिको प्रभावकारी कार्यान्वयन गर्ने, सामुदायिक विद्यालयबाट एसईइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहीत गर्ने, युवा स्वरोजगारका लागि सिपमुलक तालिम सञ्चालन गर्ने लगायत केही नयाँ कार्यक्रम पनि समावेश भएको छ ।

यसैबीच बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापा सहित कार्यपालिका र वडा सदस्य नगरसभामा सहभागी भएका छैनन् । अन्य कार्यपालिका सदस्यहरुका अनुसार २ नम्बर वडाका जनप्रतिनिधिहरुले बजेट वितरणमा बेनी–भकुण्डे सडकमा पर्याप्त बजेट बिनियोजन नभएपछि ज्यामरुककोटका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाउदै सहभागि नभएको जानकारी दिएका छन् ।