प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नति र पदमार्ग निर्माण
- २२ असार २०७६, आईतवार
- 2116 पटक पढिएको
बाबियाचौर २२ असार । मंगला गाउँपालिका–२ बाबियाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सडक स्तरोन्नति गरिएको छ ।कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजनामा खटिएका मजदुरहरु परिचालन गरेर हिदी र रणवाङको सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने काम भइरहेको वडा सदस्य चक्रलाल पाण्डेले जानकारी दिए ।
हिदीमा तीन लाख रुपैयाँको लागतमा ८० देखि ८५ मिटर सडकमा ढुङ्गा बिछ्याउने लक्ष्य राखिएकोमा ५० मिटर सोलीङको काम भइसकेको छ । रणवाङमा पाँच लाख बिनियोजन गरिएको छ । जसबाट १४० मिटर सोलिङ गर्ने लक्ष्य रहेकोमा ५० मिटरको काम भइसकेको छ । चार मिटर चौडाईमा ढुङ्गा बिछ्याएर सोलीङ गरिएको हो । बाबियाचौरमा ३१ जना आयोजनामा परिचालन भएका छन् । यसैगरी मंगला गाउँपालिका ३ र ४ नम्बर वडामा पदमार्ग निर्माण भइरहेको छ ।
देशका विभिन्न ठाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भएको खबरहरु आइरहेका बेला आर्थिक वर्षको अन्तमा सुरु भएपनि मंगलामा प्रभावकारी रुपमा काम भइरहेको पाइएको रोजगार संयोजक कृष्णप्रसाद भुषालले बताए ।मंगलाको सबै वडामा एक सय जना भन्दा बढी परिचालन भएका छन् । उनिहरु पन्ध्र दिनसम्म काममा खटिनेछन् । दैनिक ७५० रुपैयाँका दरले ज्याला उपलब्ध गराउने व्यवस्था छ । गाउँकार्यपालिकाको बैठकले छनौट गरेका योजनामा मजदुरको रुपमा परिचालन गरिएको हो । ५०० जनाले बेरोजगार फारम भरेका थिए ।
वडा कार्यालय मार्फत बेरोजगार फारम भरेका मध्य घरमा अरुको रोजगार नभएका र विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मंगलामा २८ लाख रुपैयाँ बजेट आएको थियो ।
तीस प्रतिशत मजदुरका लागि आवश्यक औजार, पोशाक र निर्माण सामग्री खरिद तथा सत्तरी प्रतिशत ज्यालाको रुपमा परिचालन गरिने व्यवस्था छ । आयोजनामा खटिने मजदुरहरुले यसअघि गत शुक्रबार बाबियाचौरमा अभिमुखीकरण गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताए ।