अन्नपूर्णकाे गाउँसभा : बेतिथी बढेको भन्दै गाउँसभा सदस्यहरुद्धारा खबरदारी
- १९ असार २०७६, बिहीबार
- 2461 पटक पढिएको
पोखरेबगर १९ असार । अन्नपूर्ण गाउँपालिकाको बुधबार पोखरेबगरमा सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पारित गरेको छ । असार ९ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गर्नुभएको ३४ करोड ७८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट पारित भएको कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।
पूर्वाधार, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, आयआर्जन र रोजगार सिर्जना हुने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । गाउँसभा अन्तरगत लेखा समिति गठनका लागि आवश्यक कानुन बनाउन बिधायन समितिका संयोजक चन्द्रप्रकाश फगामीको संयोजकत्वमा दिलिप गर्बुजा, वुद्धी पुन, खमबहादुर गर्बुजा र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य सदस्य सचिव रहनुभएको कार्यदल गठन भएको छ ।
कार्यदललाई तीन महिनाभित्र आवश्यक कानुनको मस्यौदा तयार पारेर पेश गर्ने म्याद दिइएको छ । गाउँसभा सदस्यहरुले लेखा समिति गठन नभएसम्म सभा अघि बढ्न नदिने भन्दै हलबाट बाहिरिएर दवाव दिएका थिए । दिउँसो साढे ११ बजे सुरु भएको बैठक करिब दश मिनेट सञ्चालन भएपछि यसअघि समेत निर्णय भइसकेको लेखा समिति गठनमा बेवास्ता भएको भन्दै सभा छाडेर बाहिरिएका थिए । उनिहरुले विकास आयोजना देखि सामग्री खरिदमा बेतिथी, अपारदर्शीता र बिकृति देखिन थालेको भन्दै कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई सचेत बनाएका थिए । विभिन्न चरणमा छलफलमा कार्यदल बनाउने सहमति जुटेपछि गाउँसभा सूचारु भएको थियो ।
सभामा बोल्ने गाउँसभा सदस्यहरुले हरेक विषयमा कार्यपालिका हावी भएको, जवाफदेहि र निर्णयहरु पारदर्शी नभएको, कार्यालयको कार्यसम्पादनमा चरम ढिलासूस्ती गरेर सेवाग्राहीलाई सास्ती दिएको भन्दै आलोचना गरेका थिए । गाउँसभा सदस्य वुद्धी पुनले गाउँसभा बस्नुअघि एक हप्ता अघि सूचना हुनुपर्नेमा हरेक पाइला पाईलामा बिधि र प्रक्रिया खोज्ने कर्मचारीहरुले सभाका सदस्यहरुलाई समयनै नदिई सभा बोलाएकोमा ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यालयको सेवाप्रवाहमा चरम ढिलासुस्ती भएको, ह्स्व र दिर्घ हेरेर सेवाग्राहीलाई झुलाएको भन्दै कर्मचारीहरुलाई सचेत बनाउनुभयो । अर्का सदस्य बिरबहादुर पौडेलले कार्यपालिकाले गर्ने गतिबिधिको निगरानी, सुनुवाई र जवाफदेही बनाउन स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेखित ब्यवस्था अनुसार लेखा समिति गठन गर्ने निर्णय कार्यान्वयनमा बेवास्ता भएको भन्दै विषय प्रवेश गराउनुभएको थियो ।
योजना छनौट, कार्यान्वयन र निर्णय प्रक्रियामा वडा सदस्यहरुलाई भूमिका बिहीन र औपचारिकता मात्र बनाउन खोजिएकोमा असन्तुष्टि जनाएका थिए । अर्का सदस्य रविन्द्र गर्बुजाले गाउँपालिकाको ऐन, नियम, कार्यबिधि निर्माणका क्रममा अध्ययन र छलफलको लागि पर्याप्त समय दिनुपर्ने बताउनुभयो । कार्यपालिकाले विभिन्न निर्णय गर्ने तर कार्यान्वयमा बेवास्ता गरिएको उहाँको भनाई थियो । कार्यपालिका सदस्य देवकुमारी खोरजाले प्रत्येक वडामा एक, एक लाख रुपैयाँको दरले स्थापना गरिएको गर्भवती तथा सुत्केरी महिला सहायता कोष कार्यबिधि अभावमा परिचालन हुन नसकेकोमा ध्यानाकर्षण गराउनुभयो ।
नीति तथा कार्यक्रम अनुसार बजेटले कृषि क्षेत्रलाई सम्बोधन नगरेको, विगतकै कार्यक्रमलाई निरन्तरता दिएर नयाँ कार्यक्रम समावेश नभएकोमा गाउँसभा सदस्यहरुले प्रश्न उठाएका थिए । अध्यक्ष डमबहादुर पुनले अहिले सम्बोधन गर्न नसकेका क्षेत्रमा चालु आर्थिक वर्षमा खर्च हुन नसकेर बच्ने बजेटबाट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सबैको भावना बुझेर सल्लाह लिएर गाउँपालिकालाई अघि बढ्न खोज्ना धेरै अप्ठ्यारो भएको अनुभवन व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले न्युन जनशक्ति र कर्मचारी परिवर्तन भइरहने समस्याले सेवा प्रवाहमा असर परेको बताउनुभयो ।