मालिका गाउँपालिकाको छेरवाङ र सोली खोलामा झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

  • १५ असार २०७६, आईतवार
  • 3798 पटक पढिएको

सन्तोष गौतम
म्याग्दी १५ असार । मालिका गाउँपालिकाको पात्ले स्थित छेरवाङ र सोली खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका २ र ३ को सिमानामा पर्ने छेरवाङ खोलामा ८५ र ३ नम्बर वडामा पर्ने सोली खोलामा ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबिएसयु) र गाउँपालिकाको सहयोग तथा मिलन म्याग्दीको प्राबिधिक तथा समुदाय परिचालनमा उपभोक्ता समिति मार्फत पुल निर्माण भएको जनाइएको छ ।

४५ लाख नौ हजार ९७१ रुपैयाँ लागत अनुमान गरि २०७५ फागुन २१ गते सम्झौता भएको छेरवाङ खोलाको झोलुङ्गे पुल ४३ लाख ३४ हजार ४१८ रुपैयाँमा सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी २६ लाख ४६ हजार १९२ रुपैयाँ लागत अनुमान गरिएको सोली खोलाको पुल २५ लाख १८ हजार ६०७ रुपैयाँमा सम्पन्न भएको उपभोक्ता समितिका सचिव रविन्द्र रोकाले बताउनुभयो ।

छेरवाङको पुल निर्माणका लागि टिबिएसयुले स्वाप कार्यक्रम मार्फत ३७ लाख २१ ह्जार ९५७, चार लाख २७ हजार २१७ रुपैयाँ बराबरको लठ्ठा र बुल्डअफ ग्रिप, गाउँपालिकाको दुई लाख २० हजार ५९८ रुपैयाँ अनुदान र उपभोक्ताले ९० हजार १९९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।सोलीखोला पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमबाट २२ लाख ४१ हजार ८६८ नगद, एक लाख ९२ हजार ६२८ बराबरको लठ्ठा र बुल्डअप ग्रिप, गाउँपालिकाको एक लाख ५८ हजार ७७१ रुपैयाँ अनुदान र समुदायको ५२ हजार ९२३ रुपैयाँको श्रमदान रहेको छ ।

छेरवाङको पुलबाट ४२५ घरधुरीका दुई हजार ३८१ र सोलीको पुलबाट ११५ घरधुरीका २८३ जनसंख्या लाभान्वित भएका छन् । यसअघि पुल नहुँदा बिशेष गरेर बर्खाको समयमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता थियो । स्थानीयबासी र विद्यार्थीहरुलाई आवत जावतमा समस्या भएको थियो । पुल बनेपछि सुरक्षित रुपमा आवत जावत गर्न सुबिधा भएको गोरक्ष आधारभूत विद्यालयका शिक्षक शेरबहादुर बुढाले बताउनुभयो । दुई वटै पुलको शनिबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो ।

जिसस प्रमुख केसीले पुल निर्माणले स्थानीयको जनजिवनमा सकारात्मक प्रभाव पारेकोमा खुसी व्यक्त गर्दै दुर्गम क्षेत्रमा पुलको आवश्यकता रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेको पात्ले गाउँमा विकासका पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताउनुभयो ।

उहाँहरुले आगामी वर्ष पात्लेमा सडक पु¥याउन तीस लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयो । दुई वटै कार्यक्रमको सञ्चालन हेमबहादुर बुढाले गर्नुभएको थियो । सोलीखोलाको उद्घाटन अध्यक्ष पुरन रोका र छेरवाङको कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष ताराकुमार रोकाको अध्यक्षमा भएको थियो । असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ताको सक्रियता र सहयोगले लक्ष्यअघिनै सम्पन्न गरेको उपभोक्ता समितिका पदाधीकारीले बताएका छन् ।

टिबिएसयुको क्षेत्रीय सहयोग कार्यालय पोखराका इञ्जिनियर नरबहादुर तुम्बाहाम्फेले यस वर्ष म्याग्दीमा तीन वटा पुल बनिसकेका, दश वटा निर्माणको क्रममा रहेका र आगामी वर्ष पन्ध्र देखि २० वटा बनाउने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीमा टिबिएसयुले हालसम्म २०० पुल बनाएको छ ।