रघुगंगा गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा
- २६ जेष्ठ २०७६, आईतवार
- 2282 पटक पढिएको
म्याग्दी २६ जेठ । जिल्लाको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वडा स्तरमा तर्जुमा गरेको छ । आठ वटै वडामा टोल, बस्ती हुदै वडा स्तरमा जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाहरुसंगको परामर्शको आधारमा गाउँपालिकामा माग गरिने योजना तथा कार्यक्रम तय गरिएको हो । गत बैशाख २९ गते झिँ देखि सुरु भएको योजना तर्जुमा आइतबार दग्नाममा समापन गरिएको छ ।
योजनामा समुदायको अपनत्वको भावना विकास गराउने, जनसहभागिता जुटाउने र समस्या तथा आवश्यकता पहिचान गर्न बस्ती बस्तीमा पुगेको गाउँपालिकाका अध्यक्ष भवबबहादुर भण्डारीले बताउनुभयो । उपभोक्तालाई झञ्जट र दुख हुनुका साथै उपलब्धि पनि नदेखिएपछि टुक्रे योजना कटौती गरेर प्रत्येक वडामा कम्तीमा एक वडा पच्चिस लाखको गौरवको योजना छनौट गरिएको उहाँले बताउनुभयो ।
दग्नामका वडा अध्यक्ष रुकबहादुर गर्बुजाले सरोकारवालाहरुको सुझावको आधारमा आगामी आर्थिक वर्षका लागि ४३ लाख रुपैयाँ बराबरको ११ वटा योजना प्रस्ताव गरिएको बताउनुभयो । दग्नामको जनता माविको भवन निर्माणलाई गौरवको योजनामा प्रस्ताव गरिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले चालू आर्थिक वर्षमा २६४ वटा पूर्वाधार योजना रहेकामा आगामी वर्ष १०० भन्दा कम बनाउने निर्णय भएको बताउनुभयो । चालू आर्थिक वर्षका योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था अन्तिम चरणमा पुगेको र असार ५ गते नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो ।
आगामी वर्षका लागि संघीय, प्रदेशको अनुदान, अल्याय र आन्तरिक आम्दानी सहित करिब तीस करोड रुपैयाँ हाराहारीको बजेट बनाउने तयारी भएको छ । सो कार्यक्रमको सहजिकरण वडा सचिव रेखा पुनले गर्नुभएको थियो ।
यसैबीच दग्नाममा योजना तर्जुमा गोष्ठिको अवसरमा गाउँपालिकाको सामाजिक सुरक्षा, संरक्षण र बचाउ कार्यक्रम अन्तरगत तीस जना जेष्ठ नागरिकलाई सम्मान र बीस जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
आयुर्वेद शाखाका कबिराज लक्ष्मण चालिसेको टोलीले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरि औषधि र सरसफाईका सामग्री वितरण गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष भण्डारीले आफूले पाउने पारिश्रमिकबाट स्थापना गर्नुभएको अक्षयकोषबाट दग्नामका पाँच परिवारका लागि स्वास्थ्य बिमा गरिदिनुभयो ।