बेनीमा सैनिक बोर्ड स्थापना, भारतीय भुपु सैनिकहरुले बेनीबाटै पेन्सन पाउने

  • १८ जेष्ठ २०७६, शनिबार
  • 4466 पटक पढिएको

बेनी १८ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला सैनिक वोर्डको कार्यालय स्थापना भएको छ । भारतीय भुपु गोर्खा सैनिकहरुको सुबिधाका लागि स्थापना भएको सैनिक बोर्डको कार्यालयबाट जुन एक शनिबारदेखि सेवा शुभारम्भ गरिएको छ । सैनिक बोर्डको कार्यालय बेनीमा स्थापना भएपछि पेन्सन सम्बन्धी कामका लागि बागलुङ पुग्नुपर्ने म्याग्दीका पूर्व गोर्खा सैनिकहरुको बाध्यता हटेको छ ।

पेन्सन वितरण, पेन्सनपत्ता नविकरण लगायत कामका साथै स्वास्थ्य शिविर लगायत धेरै किसीमका सेवाहरु पनि पाइने भुपु सैनिक कल्याणकारी सेवा केन्द्र बेनीका अध्यक्ष मिनबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीका भुपु गोर्खा सैनिकहरुले २०५८ देखि बेनीमा सैनिक बोर्डको कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए । म्याग्दीमा चार हजार जनाको हाराहारीमा भारतीय पूर्व गोर्खा सैनिक भएका अध्यक्ष कार्कीले बताउनुभयो ।

एभरेष्ट बैङ्कमा खाता भएका भारतीय पेन्सरनहरुलाई बेनीको भुपु सैनिक सहकारी संस्था मार्फत पेन्सन भुक्तानी गरिदै आएको छ । एसबिआइ बैङ्कको पनि बेनीमा शाखा स्थापनाका लागि पहल गरिएको केन्द्रले जनाएको छ । सैनिक बोर्डको जुन १० तारिकका दिन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।