शैक्षिक महोत्सवमा हाजिरीजवाफ र बक्तृत्वकला सम्पन्न, उत्प्रेरणामुलक कक्षाहरुमा विद्यार्थी उत्साहीत
- १७ जेष्ठ २०७६, शुक्रबार
- 2095 पटक पढिएको
म्याग्दी, १७ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविद्धारा आयोजित पहिलो शैक्षिक महोत्सवमा शैक्षिक प्रतियोगिता र गतिविधिले विद्यार्थी र अभिभावकको सहभागीता बढेको छ । यहि जेठ १५ देखि सुरु भएको शैक्षिक महोत्सवमा हाजिरीजवाफ, बक्तृत्वकला लगायतका प्रतियोगिता सम्पन्न भएका छन भने उत्प्रेरणमुलक कक्षाहरुले विद्यार्थी र युवाहरुको ध्यान तानेको छ ।
विहिवार सम्पन्न १६ टिमको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा गलेश्वर आदर्श आवसीय मावि प्रथम, माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, जामुनाखर्क मावि तृतिय र लोकदिप आवसीय मावि सान्त्वना हुन सफल भएका छन् । प्रचलित र नयाँ राउण्टबाट सञ्चालन गरिएको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमशः नगद रु १२ हजार, ९ हजार, ६ हजार र ३ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरि शैक्षिक महोत्सवमा आयोजित ‘‘समृद्धिको लागि शिक्षा’’ बिषयक वक्तृत्वकला प्रतियोगितामा गलेश्वर आदर्श आवसीय माविका आरती सुवेदी प्रथम, वेष्ट प्वाइन्टका अन्सुया श्रेष्ठ द्धितिय, बेनी सामुदायिकका विशाल कार्की तृतिय र लिटल गार्डेनका युनिसा शर्मा शान्त्वना हुन सफल भएका छन् । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको विद्यालयका शिक्षक मदन सुवेदीले जानकारी दिनुभयो ।
शैक्षिक महोत्सवमा रविकिरणले युवाहरुको उद्यमीकरण र शसक्तिकरण तथा विद्यार्थीहरुलाई उत्प्रेरणामुलक कक्षा दिनुभएको छ । त्यसैगरि शुक्रवार पुष्प सापकोटाको उत्प्रेरणामुलक कक्षा रहनेछ । शुक्रवार नै खुला कविता प्रतियोगिता र कवि गोष्ठी समेत आयोजना गरिएको छ भने महोत्सवमा विद्यार्थी र युवाहरुको प्रतिभा पदर्शन लगायतका कार्यक्रमलाई समेत समावेश गरिएको छ । ‘‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन हाम्रो अभियान ’’भन्ने मुल नाराका साथ सञ्चालन गरिएको शैक्षिक महोत्सवमा प्रेरक व्यक्तित्वसंगको साक्षात्कार संगै शैक्षिक क्षेत्रसंग सम्बन्धित कार्यपत्र प्रस्तुतीकरण, टिप्पणी र शैक्षिक बहसमुलक कार्यक्रम समावेश गरिएको विद्यालयका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।