गलकोट काँडेबासमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न
- १६ जेष्ठ २०७६, बिहीबार
- 2087 पटक पढिएको
बागलुङ जेठ १६ । गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिन आफु सदैव प्रतिवद्व रहने बताउनु भएको छ । गलकोट नगरपालिका वडा नं ८ मा काॅडेबासमा काॅडेबास स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । त्यसको लागि अहिले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यकता हेरी सुधार गर्दै लैजाने अधिकृत पौडेलको भनाई छ । आम भेला गलकोट सामुदायिक सेवा केन्द्र बागलुङको आयोजना तथा गलकोट नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
भेलामा स्वास्थ्य संस्थामा सुसासन, पारदर्शिता, ईकाईमा मार्फत उपलब्ध सेवा सुविधा, जनताका गुनासा, सुझाव सल्लाहहरुको विषयमा अन्तरकृया गरिएको थियो । भेलामा सामाजिक परिक्षण कार्यक्रमको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्थानियले स्वास्थ्य संस्थामा पर्याप्त औषधीहरु नपाएको, सरकारले तोकेका ४६ वटा औषधीहरु मध्य २/४ औषधी मात्र पाप्त गर्ने गरेको, सुत्केरी भत्ता नपाएको, प्रसुति गृह प्रति जनविश्वास बढाउनु पर्ने लगायतका विषयहरु उठान गरेका थिए ।
आम भेलामा उठेका स्वास्थ्य सम्बन्धि जिज्ञासा तथा सवालहरुको काॅडेबास स्वास्थ्य चौकी प्रमुख मुकेश कुमार महतो, गलकोट नगरपालिकाका स्वास्थ्य संयोजक मिनराज गैरे, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यवहाक वडा अध्यक्ष घनश्याम चालिसेले प्रतिवद्वता सहित स्पष्ट पार्नु भएको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटी सदस्य भीम शेरचन, नेपाली काॅग्रेस काॅडेबासका उपसभापति ढालेन्द्र प्रसाद गौतम, राष्ट्रिय जनमोर्चा काॅडेबासका अध्यक्ष श्याम सुनार, शिव माध्यमिक विद्यालयका प्रधानध्यापक हरि चालिसे र संस्कृति संरक्षण मञ्च काॅडेबासका प्रतिनिधी पदम सलामीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम काॅडेबास स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चालिसेको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख मुकेश कुमार महतोको स्वागत र सामाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।