म्याग्दीमा काँग्रेसको जागरण अभियान, गाउँ गाउँमा भेला

  • १६ जेष्ठ २०७६, बिहीबार
  • 2116 पटक पढिएको

म्याग्दी १६ जेठ । नेपाली कांग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्र बनाएको छ । हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत वैशाख २५ देखिदेखि सुरु गरेको जागरण अभियान अन्र्तगत अहिलेसम्म ३० बढी वडाहरुमा जागरण कार्यक्रमको भेला गरिएको छ । जिल्लाको ४५ वटै वडा स्तरमा पुगेर कार्यक्रम गर्नको लागि १८ वटा टोली बनाएर परिचालन भएको नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरु संयोजक रहेर बनाइएको टोलीले गाउँ गाउँमा पुगेर महासमिति बैठकले गरेका निर्णय र नयाँ संरचना अनुसार भएको विधान संसोधनबारे जानकारी गराउने गरिएको छ । जिल्ला स्तरबाट खटिएको टोलीले स्थानीय स्तरमा पुगेर वर्तमान सरकारले गरेका गलत कार्यहरुको बारेमा समेत कार्यकताहरुलाई जानकारी गराउने र सदस्यता वितरण लगायतका कामहरु गरिरहेको श्रेष्ठले जानकारी दिए । संघिय सरंचना अनुसार काँग्रेसको समिति बन्न सकेको छैन् ।

अहिले तत्कालिन गाउँ कार्य समितिका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरुसंग पार्टीको बारेमा छलफल गर्ने, राय सुझाब लिन काम गरिएको काँग्रेसले जनाएको छ । काँग्रेसले यस बर्षलाई जागरण बर्षको रुपमा मनाउनको लागि पहिलो चरणमा वडा स्तरमा, दोस्रो चरणमा भदौ २४ देखि असोज ७ सम्म सबै प्रदेश निर्वाचन क्षेत्रमा र पुसमा ७५३ वटै स्थानीय तह संगै जिल्ला स्तरमा समेत जागरण आमसभा गर्ने घोषणा गरेको छ ।